ताप्लेजुङ । भदौ १२ देखि १९ गतेसम्म सञ्चालित अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको टिकट बिक्रीबाट सवा ३८ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ ।

 

लाखेजात्रा पर्वको अवसरमा आयोजित गोल्डकपको क्वाटरफाइनल खेल हेर्नका लागि २ सय, सेमिफाइनलमा ३ सय र फाइनल खेल हेर्नका लागि ५ सय रूपैयाँ टिकटदर आयोजकले निर्धारण गरेको थियो ।

 

आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार यसवर्ष गोल्डकपको टिकट बिक्री गरेर कुल ३८ लाख २९ हजार ९ सय रुपैयाँ रकम सङ्कलन भएको छ । उक्त रकम खेल हेर्न मैदान प्रवेश शुल्कको टिकट बिक्रीबाट सङ्कलन भएको कोषाध्यक्ष शेर्पाले जानकारी दिए ।

 

उनका अनुसार क्वाटरफाइनलका चार खेलबाट ११ लाख ९१ हजार २ सय रुपैयाँ, सेमिफाइनलका दुई खेलबाट छ लाख पाँच हजार ७ सय रुपैयाँ र फाइनलमा टिकट बिक्रीबाट २० लाख ३३ हजार रुपैयाँ सङ्कलन भएको थियो ।

 

आयोजकले पूरा खेल हेर्नलाई न्युनतम् तीन हजार रुपैयाँको छुट्टै प्याकेज टिकट पनि बिक्री गरेको थियो । प्याकेज टिकटबाट सङ्कलन भएको रकमको हिसाब भने आउन बाँकी रहेको समितिका कोषाध्यक्ष शेर्पाले बताए ।

 

चौथो संस्करणको उपाधि साविक विजेता सल्हेश युवा क्लब सिरहाले जितेको थियो । यसवर्ष विजेतालाई सात लाख दुई हजार ८३ रुपैयाँ र उपविजेतालाई तीन लाख ५२ हजार ८३ रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।