भद्रपुर । झापामा भारतबाट भन्सार छली नेपाल भित्र्याइएका भारतीय औषधिसहित एक वटा सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरेको छ ।

 

सशस्त्र प्रहरी बल, नेपालका अनुसार सोमबार कचनकवल गाउँपालिका ३ बगानस्थित सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म घेराबारीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ च १०१७ नम्बरको ईभी गाडी शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा चालक तथा अन्य व्यक्ति गाडी छाडेर फरार भएका थिए ।

 

गाडी जाँच गर्दा भारतबाट भन्सार छली ल्याइएका विभिन्न प्रकारका ५ कार्टुन औषधि फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद औषधिको भन्सार मूल्य ९ लाख ६७ हजार ३९० रुपैयाँ र ईभीको मूल्य २१ लाख ५० हजार रुपैयाँ रहेको छ । औषधि र गाडी गरी ३१ लाख १७ हजार ३९० रुपैयाँबराबरको सामान बरामद गरिएको हो ।

 

बरामद सामान तथा गाडीलाई आवश्यक कारबाहीका लागि सोमबार दिउँसो २ः५० बजे भद्रपुर भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।