अर्जुनधारा । शिवसताक्षी नगरपालिकाको झिलझिले भेट्रान्स फुटबल क्लब झापाको अर्जुनधारा ११ मा आयोजित प्रथम सालबारी-मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

सालबारी मिलडाँडा युवा परिवारको आयोजनामा शनिबारदेखि सुरु भएको उद्घाटन खेलमा झिलझिलेले पृथ्वीनगरको ज्ञाने चौक भेट्रान्समाथि ४-० गोलको शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

 

स्थानीय देउनिया खेलमैदानमा भएको खेलमा झिलझिलेको जितका लागि प्रकाश शेर्माले खेलको २०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि कप्तान जसु राईले २५औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। श्यामबहादुर लिम्बूले ३५औँ मिनेटमा गोल गरेपछि झिलझिले ३-० ले अघि बढ्यो। कप्तान जसु राईले नै ५६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाएका हुन्।

 

खेलको प्लेयर अफ द म्याच झिलझिले भेट्रान्सका कप्तान जसुराई घोषित भए। उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। उनलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, ११ नम्बर वडाका अध्यक्ष खगेन्द्र इङनामलगायतले पुरस्कार प्रदान गरे ।

 

आयोजक समितिका संयोजक नन्दलाल खतिवडाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कोषाध्यक्ष किरण जवेगुले स्वागत गरेका थिए। कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले खेलकुद क्षेत्रमा अर्जुनधारा नगरपालिका अब्बल रहेको बताइन्। खेलाडी तथा अफिसियलको योगदानका कारण नगरको गरिमा खेलकुदमार्फत अझ उचाइमा पुगेको उनको भनाइ थियो। यसैगरी, सहआयोजक रहेको अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनामले प्रतियोगिताको औचित्यमाथि प्रकाश पार्दै आफ्ना भनाइ राखेका थिए ।

 

प्रतियोगिताअन्तर्गत आइतबार आयोजक मिलडाँडा भेट्रान्स र चन्द्रगढी भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ। त्यसअघि नेपाल पुलिस झापा र शनिश्चरे एफसीबीच मैत्रीपूर्ण खेल हुनेछ ।

 

प्रतियोगिताको विजेताले नगद ५१ हजार र ट्रफी पाउँदा उपविजेताले नगद ३१ हजार पाउने छ । अन्य विधागत विजेता खेलाडीले ५५ हजार पाउँदा सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सयसहित ट्रफी पाउने छ ।