झापा । बिर्तामोड १ मा रहेको शान्ति समूह नेपाल सुधार केन्द्रमा उपचारका लागि ल्याइएका एक युवकको मृत्यु भएपछि परिवारले सुधार केन्द्रलाई कार्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिएका छन् ।
सुधार केन्द्रमा इलाम फाकफोकथुम २ कोल्बोटे बस्ने ३३ वर्षीय नरबहादुर बस्नेतको मृत्यु भएको हो । मादक पदार्थ सेवनको लत छुटाउन बस्नेतलाई ३ महिनासम्म सुधार केन्द्रमा राख्ने गरी असोज २५ गते परिवारले शान्ति समूह नेपाल सुधार केन्द्रमा भर्ना गराएका थिए । असोज २७ गते उनी विरामी परेको खबर परिवारलाई दिइएको थियो । परिवार नआइपुग्दै बस्नेतको मृत्यु भइसकेको थियो ।
सुधार केन्द्रका सञ्चालकले बस्नेतलाई उपचारको लागि कञ्चनजंगा अस्पताल लगेकोमा उपचार सम्भव नभएपछि बिर्ता सिटी अस्पताल पुर्याई चिकित्सकहरुले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।
यसैबीच, बिर्तासिटी अस्पतालको शवगृहमा आई आफ्नो दाजुको लास हेर्दा शरीरको विभिन्न भागमा चोटपटक देखेको मृतकका भाइ ३१ वर्षीय तारा बस्नेतले जाहेरीमा उल्लेख गरेका छन् । उनले बिर्तासिटीसँग बुझ्दा आफ्ना दाजुलाई अस्पतालमा ल्याउँदा नै मृत्यु भइसकेको बताएको जनाएका छन् ।
शान्ति समूह नेपाल सुधार केन्द्रमा रहेको सीसीटीभी फुटेज समेत चेकजाँच गर्दा आफ्ना दाजुलाई कोठाभित्र अस्पतालको वेड जस्तोमा हात खुट्टाहरु बाँधेर सुताइरहेको र पीडाको कारण हल्ला गर्दा सोही कोठामा सुत्ने अन्य तीन-चार जना मानिससमेतले शरीरको विभिन्न भागमा थिम्चेर दाहिने हातमा डोरी बाँध्दै गरेको र सोमध्येको एक जनाले गालामा झापड हानेको तथा एक जनाले लठ्ठी बोकेको देखेपछि शंका लागेर सोधपुछ गर्दा पनि सुधार केन्द्रकै लापरवाहीको कारण दाजुको मृत्यु भएको उनले दाबी गरेका छन् ।