बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैधरुपमा भण्डारण गरिएको गाँजा बरामद गरेको छ।

 

प्रहरीका अनुसार शुक्रबार बिहान बिहान ७ः५० बजेको समयमा मेचीनगर नगरपालिका ५ स्थित सिर्जना चोक नजिक रहेको चिया बगानमा बेवारिसे अवस्थामा गाँजा लुकाइछिपाइ राखेको विशेष सूचना प्राप्त भएको थियो।

 

सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र अस्थायी प्रहरी पोस्ट इँटाभट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा खानतलासी गर्दा १३ वटा पोकामा रहेको गाँजा फेला पारेको हो।

 

बरामद गरिएको गाँजा ५५७ केजी रहेको छ। बेवारिसे अवस्थामा फेला परेको उक्त गाँजा नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिएका छन् ।