काँकडभिट्टा- झापामा पछिल्लो समय बलात्कारका घटना बढेका छन् । जिल्लामा दैनिकजसो बलात्कारका घटना सार्वजनिक हुने गरेको एक तथ्यांकले देखाएको छ । अधिकांश घटनामा ५ वर्षीया बालिकादेखि ७६ वर्षीया वृद्धासम्म सिकार भएका छन् ।
‘इन्सेक’ झापाका संयोजक नरेश खातीका अनुसार गत मंसिरदेखि असारसम्मको ६ महिने अवधिमा ४२ वटा बलात्कारका घटना भए । जसमा २३ जना त बालबालिका मात्रै पीडित छन् । बाँकी १९ घटनामा वृद्धा, मानसिक सन्तुलन गुमाएका, अपांगता महिलाहरू बलात्कारका सिकार भएका छन् । बलात्कार प्रयासका १३ घटना भए । जसमा १० घटनाका पीडित बालबालिका र तीन घटनाका पीडित वृद्धा महिला छन् । उनका अनुसार अधिकांश बलात्कार घटनामा नजिकका छिमेकी, आफन्त र नातेदारको संलग्नता बढी पाइएको छ ।
गत असार २ मा सार्वजनिक बलात्कार घटनामा घरधनीकै संलग्नता पाइएको छ । मेचीनगर ९ का करिब ५५ वर्षका विष्णु खड्काले किशोरीलाई ब्ल्याकमेलिङ गर्दै विगत एक वर्षदेखि बलात्कार गर्दै आएको खुलेको हो । किशोरी परिवारसहित खड्काकै घरमा डेरामा बस्दै आएकी थिइन् । उनले डरधम्की देखाएर उनलाई पटक-पटक बलात्कार गरेको रहस्य बाहिर आएको स्थानीय अगुवा महिला सविता भण्डारीले जानकारी दिइन् ।
उनका अनुसार खड्काले किशोरीलाई बलात्कारपछि गर्भ निरोधक चक्की जबर्जस्ती कोच्याउने गरेको समेत पाइएको छ । आरोपी खड्का फरार छन् । बलात्कार घटनामा दलित महिला बढी प्रताडित हुने गरेको एक अध्ययनले देखाएको छ । दलित महिलालाई विभिन्न डर र त्रास देखाएर बलात्कार गर्ने गरिएको पाइएको छ । पछिल्लो उदाहरण धुलाबारीकी दलित किशोरी हुन् ।