झापा । किरात राई यायोक्खा बिर्तामोड प्रारम्भिक समितिले यायोक्खाको ३२औँ स्थापना दिवसका अवसरमा साकेला थानमा दीप प्रज्वलन गरी मनाएको छ । बुधबार साँझ बिर्तामोड ५ स्थित यायोक्खाको कार्यालय परिसरमा रहेको साकेला थानमा किरात राई समुदायको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो ।

किरात राई यायोख्खा बिर्तामोडका अध्यक्ष बेनु राईको अध्यक्षतामा भएको कार्यक्रम झापा जिल्ला कार्य समितिका सल्लाहकार कुमार राईको प्रमुख आतिथ्यमा भएको हो । यायोक्खा बिर्तामोडकी उपाध्यक्ष पम्फा राईले स्वागत गरेको कार्यक्रममा जिल्ला सदस्य अर्जुनकुमार राईले स्थापना दिवसका बारेमा प्रष्ट पारेका थिए ।

यायोक्खा बिर्तामोडका सचिव गोपाल राईले सञ्चालन गरेको कार्यक्रममा निर्माणाधीन यायोक्खा भवन निर्माणका लागि विभिन्न व्यक्तित्वले सोही कार्यक्रममा रकम हस्तान्तरण गरेका थिए । बिर्तामोडका समाजसेवी तेजबहादुर राईले भवन निर्माणका लागि एक लाख  १५ हजार सहयोग प्रदान गरे । उक्त रकम यायोक्खा बिर्तामोडका कोषाध्यक्ष चित्रप्रकाश राईले ग्रहण गरेका थिए ।

त्यस्तै, बिर्तामोड ४ निवासी हाल हङकङमा रहेका कृष्ण राईले भवन निर्माणका लागि ६३ हजार नौ सय र किरात राई यायोक्खा भद्रपुर समितिबाट संस्थागत सहयोगस्वरुप १९ हजार ७५० रुपैयाँ प्राप्त भएको जिल्ला सदस्य तथा बिर्तामोडका पूर्व अध्यक्ष अर्जुन राईले जानकारी दिए । उनका अनुसार भवनमा कार्यालयसँगै मञ्च र कभर्ड हल निर्माण भइरहेको छ ।