इलाम । इलाममा विगत दूई दिन देखिको हावाहुरीले बितण्डा नै मच्चाएको छ । हावाहुरीका कारण सबैभन्दा बढी विद्युतिय प्रशारण लाइन र वितरण लाइनमा अवरोधका साथै क्षति समेत पुर्याएको छ । हावाहुरीले ३३ केभि क्षमताको प्रशारण लाइन र ग्रामीण क्षेत्रका विद्युतिय प्रशारण लाइनमा क्षति पुगेको छ ।

वर्षात र हावाहुरी अझैसम्म जारी रहेका कारण विद्युतिय प्रशारण लाइनमा बाँस र रुखहरुले छुँदा पटक पटक विद्युतमा अवरोध पुगेको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रबिनबाबु घिमिरेले बताउनुभयो । ग्रामीण क्षेत्रमा सडक विस्तार गर्दा त्यसको प्रभाव अध्ययन नभएको र वर्षातमा पहिरो गएकाले धेरै विद्युतिय पोलहरुमा क्षति पुगेको छ ।

सडक निर्माण र विस्तार गर्दा सडकको माथिल्लो भाग मात्रै कटिङ्ग गरिएका कारण बढी मात्रामा पहिरो गएको र हावाहुरीले कमजोर भएको भु–वनोटको क्षेत्रका विद्युतिय पोलहरु लडेका छन् । हावाहुरी र वर्षातका कारण असारबाट सता तीन दर्जन बढी विद्युतिय पोलहरुमा क्षति पुगेको विद्युत प्राधिकरणले जनाएको छ ।

दुई दिन यताको हावाहुरी मात्रै विद्युत प्रशारण र वितरण लाईनका दर्जन बढी पोलहरु ढलेको तर विद्युत सुचारुका लागि सबै स्थानमा कर्मचारी परिचालन गरि मर्मतको काम भइरहेको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्र इलामले जनाएको छ ।

दुई दिनको हावाहुरीले प्रशारण र वितरण लाईनमा अवरोध पुर्याउने ५ सय बढी बाँस काटि विद्युत सुचारु गर्ने काम गरिएपनि हावाहुरी अझै जारी रहेकाले समस्या रहेको प्राधिकरणको भनाइ छ । इलामको पूर्वी क्षेत्रमा यो समाचार तयार पार्दासम्म पनि तिब्र हावा चलिरहेको छ ।