उदयपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को प्रथम महाधिवेशनबाट अर्जुन जम्नेली राईको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक समिति सर्वसम्मत गठन भएको छ ।
फोनिजको शुक्रबार सम्पन्न महाधिवेशनको बन्दसत्रले राईको अध्यक्षतामा उक्त समिति सर्वसम्मत गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षद्धयमा भूमिका सुब्बा र फिपराज वेघा, महासचिवमा विदुर खवास, संगठन सचिवमा सन्देश सुब्बा र संस्थागत सचिवमा अप्सरा समाल मगर र कोषाध्यक्षमा सुसन राई चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा अतित योङहाङ, चन्द्रकुमार राई, टकलाल राई, नविन गुरुङ, प्रदिपकुमार चौधरी, प्रेम देवान, प्रेमबहादुर पापो, भाष्कर चौधरी, महेन्द्र मादेन, मानवी तामाङ, राजन साम्पाङ, विजय धिमाल, विनादेवी तामाङ र सहारा लिम्बू चयन भएका छन् ।
त्यस्तै घनेन्द्र केरुङको संयोजकत्वमा खगेन्द्रकुमार राई र ज्ञानू केदेम लिम्बू सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन भएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको महाधिवेशनले ११ बुँदे उदयपुर घोषणा पत्र जारी गरेको छ ।
जारी गरिएको घोषणा पत्रमा फोनिजले उठाएको समावेशी सञ्चार नीति प्रदेश सरकार र स्थानीय तहहरुबाट लागू गर्नुपर्ने, श्रमजीवि पत्रकार ऐन् तत्काल कार्यान्वयन गर्नुपर्ने, प्रदेश सरकार र स्थानीय तहहरुले बजेट निर्माण गर्दा आदिवासी जनजाति लक्षित कार्यक्रमहरु अनिवार्य समावेश गर्नुपर्ने, वर्तमान सरकारले पेश गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रा विरोधी भएकाले सरोकारवालाहरुसँग आवश्यक छलफल गरेर मात्र पेश गर्नुपर्ने, प्रदेश नम्बर १ को नामांकन ऐतिहासिक पहिचानको आधारमा किरात–लिम्बुवान–खम्बुवान घोषणा गर्नुपर्नेलगायत उल्लेख गरिएको छ ।
फोनिजका अग्रज पत्रकारलाई सम्मान
अधिवेशनको उद्घाटन सत्रमा बिहीबार १ नम्बर प्रदेशमा रहेका फोनिजका अगुवा पत्रकारलाई सम्मानसहित पुरस्कृत गरिएको छ । फोनिजका १० जना अगुवा पत्रकारहरुलाइृ १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले सम्मान तथा नगद प्रदान गरेका थिए । सम्मानित हुनेहरुमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाका पूर्व अध्यक्ष एवम् न्यूज सञ्जाल डटकमका सम्पादक रमेश समदर्शी राईलगायत रहेका छन् ।

पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति समुदायको हक अधिकार स्थापित गर्न पु¥याएको योगदानको मूल्याङकन गर्दै कार्यक्रममा पूर्व अध्यक्ष समदर्शीसहित १० जना अग्रज पत्रकारलाई सम्मानित गरिएको हो । यसरी सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इलामका सटेन्द्र जवेगू, उदयपुरका कौशल चेम्जोङ र महेश्वर राई, धनकुटाका सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई र हिमा चेम्जोङ, सुनसरीका हर्ष सुब्बा, गोपाल देवान र याम प्रधान रहेका छन् ।
सम्मानित अग्रज पत्रकारहरुलाई महाधिवेशनका प्रमुख अतिथि प्रदेश नम्बर १का मुख्यमन्त्री शेरधन राई, फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ र कार्यक्रममा अध्यक्ष दिपीन राईले सम्मानित गरेका थिए । उनीहरुलाई जनही नगद ५-५ हजार पनि प्रदान गरिएको थियो ।