बिर्तामोड । पत्रकार राजकुमार ओली माथि हातपात भएको छ । स्थानीय एक सहकारीका व्यवस्थापकको हातपातका कारण पत्रकार ओली अस्पताल भर्ना भएका छन् ।
बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा रहेको मयुर सहकारी संस्थामा पत्रकार ओलीलाई हातपात भएको हो । पत्रकार ओलीमाथि हातपात भएको प्रहरीले पुष्टि गरेको छ । ओलीलाई सोही संस्थाका ब्यवस्थापक दिनेश घिमिरेले हातपात गरेका हुन् । पत्रकार ओलीलाई हातपात गर्ने घिमिरेलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।
यता पत्रकार ओली भने वीएण्डसी अस्पतालमा उपचाररत छन् । कुटपिटको कारण नखुले पनि सहकारीको हरहिसाबका विषयमा उनीमाथि हातपात भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहन थापाले जानकारी दिनुभयो ।
यसैबीच, घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न अर्जुनधारा प्रेस क्लबले माग गरेको छ । क्लबका अध्यक्ष कुमार भट्टराईले भनेका छन्, ‘पीडितलाई न्याय प्राप्त हुने वातावरण तयार गरियोस् ।’