भद्रपुर । पूर्वकै नभएर देशकै जेठो गौशालामध्ये भद्रपुर गौशाला (गौ-धाम) लाई भनेर चिनिन्छ । गौप्रेमी केही दाता, सामाजिक व्यक्तित्व र उद्योगीहरूको प्रयासमा भद्रपुर नगरपालिका ५ स्थित नयाँ बजारमा स्थापना गरिएको भद्रपुर गौशाला अहिले स्तोरन्नतीको पर्खाइमा छ ।

वार्षिक करिब ३४ लाख खर्च हुने यस गौशालाको आम्दानी वार्षिक १८ लाख मात्र हुन्छ । बाँकी १६ लाख चन्दा र दाताको सहयोगमा धान्दै आइरहेको गौशाला व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईँले जानकारी दिएका छन् । राष्ट्रिय जनावर गाईको संरक्षण र प्रवर्धनका लागि राज्य संयन्त्रले खासै चासो नदेखाउँदा भद्रपुर गौशाला ओझेलमा परेको सदस्य तथा दाताहरू बताउँछन् ।

विसं २००८ सालमा भद्रपुर नगरपालिका कार्यालयको स्थापना भएसँगै नगरमा स्वच्छ र शुद्ध दूध पिउने तथा गौ माता संरक्षण गर्ने उद्देश्यले केही दाता, सामाजिक व्यक्तित्व र उद्योगीको प्रयासमा वि।सं। २००९ सालमा भद्रपुर गौशालाको स्थापना भएको इतिहास छ । विशेषगरी भद्रपुरका स्थानीय स्वर्गीय भवानी शङ्कर मित्रुका, मुक्ति ध्वज जोशी र जनार्दन शर्माले भद्रपुर गौशालाको परिकल्पना लिएर अघि बढेपछि करिब साढे ११ कट्ठा जमिनमा गौशाला स्थापना गरिएको हो ।

स्वर्गीय मित्रुकाले गौशालाको नाममा २५ बिघा, जोशीले ३ बिघा र शर्माले साढे तीन कट्ठा जग्गा दान गरेका थिए । गौशालामा हालमा दुई वटा गौ आवास भवन, पराल भण्डार, कार्यालय भवन, दिव्य श्री गणेश (कृष्ण भगवान्को) मूर्ति, छात्रावास, अध्ययन कक्ष लगायत लगायत संमरचना रहेको छ । विसं २०५९ साल जेठ ८ गते भद्रपुरका वयोवृद्ध लादुराम अग्रवालले एउटा गौ–आवासको भवन निर्माण गरिदिएका हुन् ।

त्यस्तै गौ प्रेमी स्वर्गीय तोलराम दुगढले २०६२ कार्तिक २४ गते एउटा गौ-आवास गृह, पराल भण्डार र कार्यालय भवनको स्थापना गरिदिएका हुन् । अहिले गौशालामा गौ चराउने जमिन नहुँदा गौशाला अगाडि रहेको धनजुजु श्रेष्ठको जमिनलाई घेराबारी गरी गौ चराउने स्थान बनाउन खोजिरहेको गौशालाका अध्यक्ष राजेन्द्र चापागाईँ बताउँछन् ।

गौशालाको नाममा करिब साढे ३१ विगहा जमिन छ । आम्दानी स्रोत केही नभएपछि समितिले त्यसमध्ये करिब १७ विगहा जमिन कृषि खेती र पशुपालनका लागि भद्रपुर कृषि समूहलाई लिजमा दिएको गौशालाका सदस्य सुबोध कोठारीले जानकारी दिए । चालु आर्थिक वर्ष २०७६।७७ का लागि समितिले ३३ लाख ३० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । गौशालाबाट उत्सर्ग हुने गौमुत्र, गोबर, दूध र जमिनबाट वार्षिक करिब १८ लाख रुपैयाँ आम्दानी हुने गरेको समितिका कोषाध्यक्ष दिलीप वंशलले जानकारी दिए ।

‘बाँकी रकम चन्दा र दाताको सहयोगमा जुटाउनु पर्ने हुन्छ’, कोषाध्यक्ष वंशलले भने, ‘आम्दानीको स्रोत हुँदाहुँदै पनि गौशाला धान्नै मुस्किल भइरहेको छ, सरकारी स्तरबाट सहयोग नआउँदा दाताहरूसँग हात फैलाउनु पर्ने बाध्यता छ ।’ गौशालालाई बचाउन भारतको दिल्ली र वृन्दावनबाट १२ थान गाई निःशुल्क ल्याएर उन्नत जातका गाई राखिएको समितिका अध्यक्ष चापागाँइको भनाई छ । हाल गौशालामा दुई नन्दी र बाछा बाछी तथा यहाँका रैथाने गरी ७१ थान गौ रहेको उनले बताए ।

पशु तस्करले भारत लैजाँदै गरेका गाईगोरुहरु प्रहरीले बरामद गरी भद्रपुर गौशालालाई बुझाउने गर्छन्, अध्यक्ष चापागाईँले भने, ‘गौ चरण र गौ आवास नहुँदा प्रहरीले ल्याएको ती गाईगोरुलाई झापाकै शिवसताक्षी नगरपालिकामा रहेको गौधाममा समिति कै खर्चबाट पठाउनु पर्ने अर्को बाध्यता छ ।’ गौशालाबाट उत्सर्ग भएको सामान र दूध नगर क्षेत्रमा नै खपत हुँदै आइरहेको उनको भनाई छ ।

हाल ४२ लिटर दूध सङ्कलन हुँदै आएको गौशालामा अबको केही महिनापछि ७५ लिटर दूध सङ्कलन हुने लक्ष्य लिएको उनले बताए । होलस्टेन र जर्सीगाईलाई घटाउँदै उन्नत जातका गाई राख्दै जाने सदस्य कोठारीले थपे । गौशालाको सञ्चालनका निम्ति भद्रपुर छाडेर गएका नेपालका अन्य जिल्लामा बसोबास गर्दै आइरहेका दाता तथा भारतका दाताहरूले वार्षिक रूपमा सहयोग गर्दै आइरहेको उनले बताए ।

गौशालालाई थप व्यवस्थित बनाउन भद्रपुर ७ निवासी विदुर ढुगांनाको पहलमा दुई लाख एक हजार रुपैयाँ नगद प्राप्त भएको छ । पश्चिमाञ्चल सिमेन्ट उत्पादक सङघ भैरहवाले १ लाख ५१ हजार र गौप्रेमी मनिष रुङ्गटाले नगद ५० हजार उपलब्ध गराए पनि ढुङ्गानाले गौशालामै पुगेर समितिका पदाधिकारीहरूलाई सो रकम हस्तान्तरण गरेका हुन ।

दाताबाट प्राप्त भएको सो रकमबाट गौशालाभित्र झिँगा र कागबाट गाईगोरुलाई सुरक्षित राख्न तार जाली बनाउनुका साथै गौशाला अगाडिको जमिन पुग्ने नालामाथि फलामको पुल बनाइने समितिका अध्यक्ष चापागाइले बताए । गौ धामप्रति आस्था र विश्वास राख्ने व्यक्तिले पनि सहयोग गरिदिनुहुन उनले सबै समक्ष अपिल समेत गरेका छन् ।

गौशालाको स्तोरन्नतीसँगै व्यवस्थानको पाटोलाई चुस्त दुरुस्त बनाउने भद्रपुरमा नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । हालै सम्पन्न गौशालाको साधारणसभाले राजेन्द्र चापागाईँको अध्यक्षतामा ११ सदस्य व्यवस्थापन समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा नन्द किशोर सरावगी, सचिव सत्यनारायण तायल, सहसचिव रिता सुवेदी ९दाहाल० कोषाध्यक्ष दिलीप वंशल । सदस्य विनोदकुमार मित्तल, विनयकुमार गोयल, अजय साहेवाला, सुरेश सरिया, पारसनाथ यादव र रमेश चन्द झा रहेका छन् ।