झापा । चर्चित सञ्चारकर्मी रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएसँगै झापामा सोमबार साँझ बृहत खुसियाली र्याली निकालिएको छ । रविका समर्थकहरुले बिर्तामोड नगर परिक्रमा गर्नुका साथै मुक्तिचोकमा नाचगान गर्दै खुसीयाली साटेका थिए ।
झापाको बिर्तामोडमा स्वस्फूर्तरुपमा निस्किएका स्थानीयले ‘सत्यको जित भएको’ भन्दै र्याली साथै नाचगान गरेर खुसीयाली साटासाट गरेका हुन् । खुसीयाली र्यालीले बिर्तामोड बजार परिक्रममा गरेको थियो । र्यालीमा सयौँ सर्वसाधारण सहभागी बनेका थिए ।
गत साउन २० गते चितवनको कंगारु होटलमा मृत अवस्था फेला परेका पत्रकार शालिकराम पुडासैनीले आफ्नो आत्महत्यामा न्यूज २४ का सञ्चारकर्मी लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई दोषी देखाएपछि उनीहरुलाई प्रहरीले गत साउन ३० गते पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको थियो ।

सञ्चारकर्मी रविको रिहाइ र मृतक पत्रकार शालिकराम पुडासैनीमाथि न्यायको माग गदै एक सातादेखि प्रदर्शन गर्दै आएका रवि समर्थकले आज पनि करिब ५ बजे नाराबाजी गर्दै नियमित प्रदर्शन गरेका िथए । नाराबाजीकै क्रममा ६ बजे थुनछेकको बहस हुने जानकारी पाएलगत्तै त्यतिञ्जेलसम्म समर्थक कोही घर नजाने उद्घोष गर्दै उनीहरुले निरन्तरता दिएका थिए । यसैबीच, धरौटीमा रिहा भएको खबर पाउनासाथ समर्थकले फेरि प्रदर्शन गर्दै बिर्तामोड गुञ्जायमान गरेका थिए ।
प्रहरी, सरकारी वकिल र चितवन जिल्ला अदालतसँगको वयान पछि आजै गरिएको थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले न्यूज २४ का सीधाकुरा जनतासँग कार्यक्रमका सञ्चालक लामिछानेलाई ५ लाख धरौटीमा छाड्ने निर्णय गरेको थियो । यस्तै, कँडेललाई ३ लाख धरौटीमा र अस्मिता साधरण तारेखमा रिहा भएका छन् ।

रवि पक्राउ परेयता उनका समर्थकले झापाको बिर्तामोड, दमक, सुरुंगा, गौरादह, केरखा र लक्ष्मीपुरलगायतका स्थानमा दैनिकजसो प्रदर्शन, र्याली र कोणसभा गर्दै आएका थिए ।