अर्जुनधारा, झापा । अर्जुनधारा २ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले आफ्ना विपन्नसदस्यलाई खाना पकाउने एलपी ग्यास सिलिण्डर र काठ वितरण गरेको छ ।
गत आर्थिक वर्ष २०७५/०७६ को गरिबी निवारण कार्यक्रमअन्तर्गत समूहले विपन्नको सूचीमा रहेका ३६ जना सदस्यलाई एक–एक थान ग्यासको सिलिण्डर प्रदान गरेको हो । समूहको कार्यालय परिसरमा मंगलबार आयोजित एक कार्यक्रममार्फत एक लाख १३ हजार सात सय मूल्यबराबरको ग्याससहितको सिलिण्डर प्रदान गरिएको समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडाले बताए ।
उनका अनुसार समूहमा गठित १२ वटा टोल समूहले सिफारिस गरेका प्रत्येक समूहका तीन जनालाई ग्यास सिलिण्डर प्रदान गरिएको हो । त्यस्तै, टोल समूहकै सिफारिसमा अन्य ३६ जनालाई ५ किविका दरले चिरान काठ वितरण गरिएको छ । प्रत्येक समूहका तीन जनालाई उपभोक्ता रेटअनुसार ३६ जनालाई एडाक लाख ५० हजार मूल्यबराबरको काठ वितरण गरिएको हो ।
समूहले वन जंगलको विनाश र चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्यले सदस्यलाई ग्यास सिलिण्डर कार्यक्रमका प्रमुख अतिथि तथा २ नम्बर वडाका अध्यक्ष रघुनाथ खनाल, सल्लाहका चेतनाथ सापकोटा, पण्यप्रसाद ओझा, खड्ग कुमाल, पूर्वअध्यक्ष निर्मलप्रसाद बराल, प्रेमप्रसाद आचार्यलगायतले वितरण गरेका थिए । समूहकी उपाध्यक्ष गंगादेवी गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव हेमराज आचार्यले गरेका थिए ।

यसैबीच, आगामी असोज ७ गते हुने समूहको २१औँ आम उपभोक्ता भेलालाई लक्षितगरी समूहले सोही दिन अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गर्यो । समूहका पदाधिकारी, सदस्य, सल्लाहकार, पूर्वअध्यक्ष र उपभोक्तालगायतको सहभागिता रहेको कार्यक्रममा वनको संरक्षणसँगै हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न, न्यून आय भएका उपभोक्ताको आर्थिक स्तर उकास्ने, समूहका कार्यक्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने लगायतका कार्यक्रम ल्याउन सहभागीले वन समूहलाई सुझाव दिएका थिए ।
एक वर्षअघि आएको यस नयाँ समितिले केही देखिनेगरी काम गरेकोमा उपभोक्ताले प्रसंसासमेत गरेका थिए । समितिले समूहको कार्यालय अगाडि रहेको घाटगद्दी वरिपरि पक्की पर्खाल निर्माणसँगै कार्यालयको वाल कम्पाउण्ड गरेको छ ।
नगरपालिकाको ११ लाख ७५ हजार र समूहको १५ लाख ५ हजारको लागतमा उक्त कार्य भएको अध्यक्ष खतिवडाले जानकारी दिए । त्यस्तै, समूहको ऋण ५५ लाख तिरिसकेको बताउँदै उनले अझै ६ लाखभन्दा बढी ऋण तिरेर बचत रहेको बताए । उनले समूहको नेतृत्व सम्हाल्न आउँदा आफ्नो कार्यकालमा उक्त ऋण तिरिसक्ने बचन दिएका थिए ।
त्यस्तै, समूहले स्थानीय तीन वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्रीका लागि जनही २५ हजार आर्थिक सहयोग प्रदान गरेको पनि अध्यक्ष खतिवडाले जानकारी दिए । आउँदो वर्ष नयाँ कार्यालय भवन बनाउने योजना राखेको समूहले अहिले ९ लाख २५ हजार रुपैयाँको लागतमा सामुदायिक पोखरी निर्माण कार्य सुरु गरेको छ ।
समूहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना राखेको समूहले पोखरी नजिक रहेको गुफा, भालुखोप रहेको क्षेत्रमा मन्दिर निर्माण गर्नेजस्ता योजना अघि सारेको बताइएको छ । ४१२ हेक्टर वन क्षेत्रफल रहेको उक्त वन समूहमा ७८४ घरपरिवार उपभोक्ता रहेका छन् ।