लक्ष्मी काफ्ले,
झापा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत ३० फागुनमा बिर्तामोडमा ट्राफिक प्रहरी भवनको शिलान्यास गरे । दुर्घटना न्यूनीकरण महाअभियानका लागि झापा आएका महानिरीक्षक खनालले डिजिटल प्रविधिबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय भवनको शिलान्यास गरेका थिए ।
एक नम्बर प्रदेश सरकारको दुई करोड ५५ लाख रुपैयाँमा सेमिनार हलसहितको कार्यालय भवन निर्माणका लागि जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड-३ मा रहेको जमिनमा टेन्डर पनि लगाइसकेको थियो । तर, शिलान्यास भएको पाँच महिनापछि सो स्थानमा भवन नबन्ने पक्का भएको छ । ट्राफिकलाई दिएको जग्गामा बिर्तामोड नगरपालिकाले आफ्नै सवारीसाधन राख्ने ग्यारेज निर्माण गरेपछि ट्राफिक प्रहरी कार्यालय अन्यत्रै निर्माण गर्नुपर्ने अवस्था आएको हो ।
नगरपालिकाले ग्यारेज पछाडिको दुई कट्ठा पाँच धुर मात्र ट्राफिक भवनका लागि छुट्याइदिएको छ । ‘सुरुमा आठ कट्ठा दिने चर्चा थियो, अहिले नगरपालिकाले दुई कट्ठा पाँच धुर मात्र छ्टयाइदिएको छ, जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर होमप्रसाद अधिकारीले भने, ‘यति सानो स्थानमा त भवन निर्माण हुनै सक्दैन र मापदण्डभित्र पनि पर्दैन । भवन बनाउन कम्तीमा पनि ६ कट्ठाभन्दा बढी जग्गा चाहिन्छ ।’ हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको मुक्तिचोकमा छ ।
राजमार्गनजिकै बन्ने निश्चित
इलाका प्रहरी कार्यालय बिर्तामोडदेखि नजिकैको खाली जग्गामा ट्राफिक भवन बन्ने निश्चित भएको छ । राजमार्गसँगै जोडिएको उक्त जमिनमा भवन बनाउनका लागि प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । ‘प्रयास जारी छ, लेखापढी भइरहेको छ’, उनले भने, ‘पुरानै टेन्डरमा नयाँ स्थानमा भवन बनाउने प्रयास भइरहेको छ ।’
राजमार्गसँगैको खाली जमिनमा भवन बनाउन प्रहरीले नगरपालिकालाई प्रस्ताव पठाएको छ । नगरपालिकाको बोर्ड बैठकले उक्त प्रस्ताव पारित गरेर भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा पठाएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले जानकारी दिए । ‘भौतिक योजना मन्त्रालयले सहमति दिएपछि त्यो फाइल भूमिसुधार मन्त्रालयमा जान्छ, भूमि सुधारबाट झापाको मालपोत कार्यालयमा आइपुग्छ’, खतिवडाले भने, ‘मालपोतमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एउटा समिति हुन्छ, त्यो समितिले सिफारिस गर्छ, अनि निर्माण कार्य सुरु हुन्छ ।’
यान्त्रिक कार्यालय हटेपछि सहज
प्रहरीले हाल प्रस्ताव गरेको बिर्तामोड-५ स्थित जमिनमा यसअघि यान्त्रिक कार्यालय रहेको थियो । यान्त्रिक कार्यालय मर्ज भएर इटहरीस्थित सडक डिभिजन कार्यालयमा गएपछि कित्ता नम्बर १०९ र २७ को साढे १२ कट्ठा जमिन केही महिनायता खाली छ । खाली जमिनबाट ट्राफिक प्रहरीले आठ कट्ठा पाउने भएको नयाँ पत्रिका दैनिकमा खबर छ ।