नरेन्द्र ढकाल,
बिर्तामोड । झापाको दक्षिणी क्षेत्र गौरादह नगरपालिकामा धान बालीमा फौजी कीराको प्रकोप शुरु भएको छ । गौराहदको वडा नं. ६ को करिब सात सय विगाह क्षेत्रफलमा फौजी कीराको प्रकोप शुरु भएपछि त्यस क्षेत्रको धानबाली नष्ट हुन थालेको छ । कीराको आक्रमणका कारण सयौं मन धान फल्ने क्षेत्रको धान बाली नोक्सान भएको हो ।
फौजी कीराले ५ दिनमै आफ्नो डेढ विगाहा क्षेत्रफलमा लगाईएको धान बाली नोक्सान भएको स्थानीय यादवकुमार बस्नेतले बताए । पहिलो पटक यस्तो कीराको प्रकोप देखा परेको उनको भनाई छ । फैजी कीराले दिनमा दुई गुना र रातमा चौगुना बाली नष्ट गर्ने गरेको बस्नेतले जानकारी दिए ।
दिनभर धानको गाजमा लुक्ने र रात परेपछि यो कीराले धानका टुप्पा काटेर भुईमा झार्ने अर्का किसान चन्द्रप्रसाद पराजुलीले बताए । समुहमा रही फौजी शैलीमा धान बालीमा आक्रमण गर्ने हुंदा यो कीरालाई स्थानीयस्तरमा फौजी कीरा भनेर चिनिएको छ । कीराको यस्तो प्रकोप देखिन थालेपछि किसान चिन्तित बनेका हुन् । पराजुलीको ५ बिगाह क्षेत्र फलमा लगाइएको धानबाली नष्ट भएको जानकारी दिए ।
धानबालीमा निर्भर रहेका किसानहरु फौजी कीराको प्रकोपका कारण चिन्ति बनेका छन् । स्थानीय खड्गबहादुर कार्कीले आफूले खेती किसानी गरेको ६० वर्ष बिते पनि यस्तो प्रकोप पहिलोपटक देखेको बताए । उनले २-३ दिनभित्रै फैजी कीराले बालीलाई नष्ट गरेपछि किसानहरु अब के गर्ने भन्दै अलमलमा परेका छन् ।

गौरादह-६ को वीरबल चौकमा यो रोगको प्रकोप धेरैरहेको स्थानीय सारदा प्रसाई पराजुलीले बताइन् । किसानहरुले फौजी कीराका कारण धानबाली नष्ट भएपछि कुन औषधि प्रयोग गर्ने भन्ने विषयमा समेत अलमल भएका छन् । धानबालीमा फैजी कीराले आतंक मच्चाएपछि स्थलगत रुपमा सोमबार उक्त स्थानमा पुग्दा किसानहरुले फौजी कीरा हातमा ल्याउदै देखाएका थिए ।
उक्त क्षेत्रमा धानबाली हिउँदे र वर्षे गरेर दुई बाली हुने गरेको छ । प्रतिविगाह ९० मनसम्म उत्पादन हुने धानमा फौजी कीराको प्रकोप देखिएपछि अब यसको समाधान कसरी गर्ने भन्ने विषयमा नगरपालिकाले छलफललाई तिब्रता दिदैं समाधानको बाटो खोज्न सुरु गरेको वडाध्यक्ष खड्गप्रसाद पराजुलीले बताए ।
उनले भने, ‘फौजी कीराको प्रकोपका कारण सयभन्दा बढी किसान मारमा परेका छन् । यसको बेलैमा समाधान नखोजे यहाँ भयावह स्थिती आउन सक्छ ।’ फौजी कीराले धानबाली नष्ट गरेपछि वर्षभर खाने अन्न कसरी जोहो गर्ने भन्दै स्थानीय किसान हेमसागर ओझाले चिन्ता ब्यक्त गरेका छन् ।
धानबालीमा फौजी किराको प्रकोपका कारण समस्या सिर्जना भएसंगै स्थानीय भेटनरी सञ्चालक बालकृष्ण दाहालले औषधि प्रयोग गर्न किसानलाई सिकाएको बताइएको छ । यस्तै कृषि ज्ञान केन्द्रको टोलीले समेत फौजी कीराको प्रकोप क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।

उता विराटनगरस्थित बाली संरक्षण प्रयोगशालाका निमित्त प्रमुख मुकेशकुमार यादव, कृषि विकास निर्देशनालयकी अधिकृत सरस्वती श्रेष्ठ लगायतको टोलीसमेत गौरादह पुगेर फैजी कीराको प्रकोपको विषयमा अवलोकन गरेको छ । उनीहरुले फैजी कीराको प्रकोप यसअघि पनि नेपालमा देखा परेको बताएका छन् ।
बाली संरक्षण प्रयोगशालाका निमित्त प्रमुख यादवले प्रदेश सरकार र कृषि ज्ञान केन्द्रमार्फत तत्काल औषधि प्रयोग गर्ने विषयमा ध्यान दिने बताए । उनले तत्काल यो कीरालाई नियन्त्रण गर्न नसके भयावह स्थिति सिर्जना हुन सक्ने उल्लेख गरे । विराटनगरको टोलीले चार प्रकारका औषधि प्रयोग गर्न किसानलाई सुझाव दिएको छ ।
बेलुकाको समयमा मात्रै औषधि प्रयोग गर्न यादवले किसानहरुलाई आग्रह गरे । फौजी कीराको निशानामा रञ्जित जातको धान परेको स्थानीयले बताएका छन् । छोटो समयमा धानबाली नै नष्ट गर्ने हिसाबले फौजी कीरा फैलिएपछि तत्काल रोकथामका लागि सरकारी स्तरबाट पहल हुनुपर्ने किसानहरुले माग गरेका छन् ।