दूधे । संविधान दिवसको अवसर पारेर झापाको शिवसताक्षी नगरका दुई गैरसरकारी संस्थाले दूधे शिवगञ्ज सडकको ५ सय मिटर दूरीमा राखिएका गमलामा फूल रोपिएका छन् । पूर्वपश्चिम राजमार्गसँग जोडिएको दूधेदेखि ५ सय मिटरको दूरीसम्म फूल रोपिएको हो ।
स्थानीय खुद्रा बचत तथा ऋण सहकारी संस्था र लायन्स क्लब अफ शिवसताक्षीले गमलामा फूल तथा लोपोन्मुख प्रजातिको बोटका विरुवा रोपेको होे ।
खुद्रा बचत तथा ऋण सहकारी संस्थाले १३औँ वार्षिक साधारण सभाको पूर्व सन्ध्या र संविधान दिवसको अवसर जुटायो भने लायन्स क्लव अफ शिवसताक्षीको नेतृत्व चयनसँगै संविधान दिवसको अवसर मिलाएको दुवै संस्थाका अध्यक्षले बताएका छन् । सो सडकमा थप ११० वटा गमलामा फूलका बोटविरुवा रोपिनेछ ।
बोटविरुवाले पर्यावरणलाई समेत सन्तुलित राख्ने भएकाले दूधे-विशवगञ्ज सडकको ५०० मिटरमा फूल रोपिएको खुद्रा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद बजगाईले जानकारी दिए । सहकारीको सिद्धान्तमा समुदायसँगको चासो रहने भएकोले सहकारीले त्यसको दायित्व पूरा गरेको अध्यक्ष बजगाईले बताए ।

सडकमा रहेको गमला र त्यसमा रोपिएका फूल तथा बोटविरुवाको संरक्षण स्थानीयबासीले गर्नुपर्ने लायन्स क्लव अफ शिवसताक्षीका चार्टर प्रेसिडेन्ट सन्तोष थोप्राले जानकारी दिए । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र लायन्स क्लवका चार्टर प्रेसिडेन्ट थोप्राको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि सहकारीका अध्यक्ष बजगाईले प्रस्ट्याएका थिए ।
यसैबीच दूधेका युवा व्यवसायी अर्जुन भट्टराईले संविधान दिवसकै अवसरमा गमलामा रोपिएको फूलमा एउटा राष्ट्रिय झण्डा प्रदान गरे । राष्ट्रिय झण्डाले नेपाल र नेपालीको गौरव बढ्ने भन्दै भट्टराईले नेपाली झण्डा दूधेमा फहराएका हुन् ।