अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले कुकरबाट सर्ने रेबिज रोग पशुको मात्र समस्या नभएर मानवीय समस्या हुने गरेको बताएका छन् ।
नगरको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले आयोजना गरेको रेबिज रोग नियन्त्रणका लागि निःशूल्क रेबिजविरुद्ध खोप तथा कुकुर बन्ध्याकरण शिविरको समापन गर्दै मेयर रानाले मानवीय क्षति हुन नदिनका लागि पनि नगरले रेबिजविरुद्धको खोप र कुकरको बन्ध्याकरण शिविरलाई प्राथमिकतामा राखेको बताए ।
तीन वर्षदेखि भइरहेको शिविर आफ्नो कार्यकालसम्म रहिरहने बताएका उनले पशुमा देखिने रोग मानवमा सिर्जना नहोस् भनेरै शिविरलाई निरन्तरता दिइएको स्पष्ट पारे । साविक खुदुनाबारी-८ को जुकेखाडीमा २०-२२ वटा चौपाय रेबिजका कारण मरेपछि रेबिज रोगको निराकरणका लागि आफूले पशुपक्षी शाखासँग पहल गरिएको उनले बताए ।

रेबिज रोगको संक्रमणबाट मान्छेले अकालमा ज्यान गुमाउन नपरोस् भनेर शिविर सञ्चालन गरिरहेको दोहोर्याएका उनले झापाका स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिकाले नै पहिलोपल्ट शिविर सञ्चालन गरेको दाबी गरे ।
प्राविधि सहयोग प्रदान गरेको हार्ट नेपाल पोखराका प्रमुख खगेन्द्र भट्टराईले पहिलोपल्ट आउँदा नगरमा लुतोले सकिन लागेको, खुट्टा खोच्याउने, विभिन्न संक्रमणग्रस्त, ट्युमर भएका कुकुर देखिएको भन्दै यसपटक त्यस्ता सामुदायिक कुकर नदेखिएको भन्दै खुसी व्यक्त गरे ।
भुस्याहा कुकुरको सट्टा सामुदायिक अथवा सामाजिक कुकुर भन्न थालिएको प्रति नगरबासीमा पनि चेतना स्तर बढेको भन्दै उनले खुसी व्यक्त गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले अर्जुनधारामा झुण्डमा कुकुर आएर गोठमा रहेका, चरनमा रहेका गाई, बाख्रालगायत चौपाय मारेर खाने समस्या बढेकाले नगरले किसानको आर्थिक क्षति न्यूनीकरण गर्न शिविर सञ्चालन गरेको जानकारी गराए ।
शाखा प्रमुख पदमलाल राईका अनुसार यसपटक २ सय वटा सामुदायिक र घर पालुवा कुकुरको बन्ध्याकरण गरिएको जानकारी दिए । उनका अनुसार एक हजार ३२ वटा कुकुरलाई नगरको ११ वटै वडामा खटिएर रेबिजविरुद्धको खोप लगाइएको छ ।

विगत वर्षभन्दा रेबिज रोग संक्रमण तथा नियन्त्रणमा ८० प्रतिशत सफलता मिलेको शाखा प्रमुख राईले बताए । शाखाकै पहलमा नगरले तथ्यांक संकलन र अद्यावधिकका लागि कार्यविधी तयार गर्न लागेको पनि उनले जानकारी दिए ।
कार्यक्रममा हार्ट नेपालका टिमलाई सम्मानसहित नगर प्रमुख राना र प्रमुख प्रशासकीय अधिकृत भूर्तेलले मायाको चिनो पनि प्रदान गरेका थिए ।