अर्जुनधारा । झापा बिर्तामोडको शिखर बचत तथा ऋण सहकारी संस्थाले आज अर्जुनधारा-८ नारायण चोकस्थित सन्थाल बस्तीमा पुगेर दसैँको कपडा र खाद्यान्न वितरण गरेको छ । संस्थाले नवौँ वार्षिकोत्सवमा विपन्न र सिमान्तकृत समुदायलाई कपडा र खाद्यान्न प्रदान गर्ने घोषणा गरेको थियो ।
‘दसैँ आयो खाउला पिउँला, चाडपर्वमा कसैले फैलाउनु नपरोस् हात, यसपालिको दसैँमा शिखरले दिनेछ तपाईको साथ यसपालि दसैँ शिखरसँग’ भन्ने नाराका साथ कार्यक्रम अघि सारेको हो । सोही कार्यक्रमअनुरुप बुधबार अर्जुनधारामा रहेका ४६ घरपरिवारलाई एक कार्यक्रम गरी लत्ताकपडा र खाद्यान्न वितरण गरेको हो ।

संस्थाका अध्यक्ष दिपेन्द्र राउतका अनुसार ४६ घरपरिवारलाई कम्तिमा एक लाख ५० हजार मूल्यबराबरको लत्ताकपडा र खाद्यान्न वितरण गरिएको छ । जुत्ताचप्पल, जाडोमा लगाउने न्यानो कपडा, बच्चाहरुका लागि छुट्टै कपडा कार्यक्रममा वितरण गरिएको थियो । खाद्यान्नमा चामल, तेल, चिउरा, मुरइ, चाउचाउ, दालमोठ, चिनी रहेका छन् ।

संस्थाका सेयर सदस्यसँग सहकार्य गरेर संकलित लत्ताकपडा, खाद्यान्न दसैँलाई लक्षित गरी वितरण गरिएको बताइएको छ । कसैले पनि आर्थिक अभावमा चाडपर्व मनाउन नपरोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको उनले बताए ।

२०६७ साल बैशाख २२ गते औपचारिक रुपमा सेवा शुरु गरेको शिखर साकोसले स्थापना कालमा ४४ जना शेयर सदस्यले एक हजारका दरले शेयर लगानी गरेर शुरु गरिएको शिखर साकोसमा हाल सात हजार आठ सय ३९ जना शेयर सदस्य रहेको उनले बताए ।
