गंगा बराल,
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाका अति विपन्न र लोपोन्मूख सन्थाल परिवारले नयाँ पक्की घर पाएका छन् । नेपाल सरकारबाट प्राप्त बजेटबाट गत वैशाखमा निर्माण सुरु गरिएको पक्की घर बिहीबार एक समारोहका बीच सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो ।

भद्रपुर वार्ड नं १ को बाहाटोलका १० घरपरिवारलाई घर हस्तान्तरण गरिएको भद्रपुर नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारले बताए । नगर प्रमुख सन्थाल आवास योजनाअन्तर्गत घर निर्माण गरिएको हो । दुई वटा शयन कक्ष, एउटा किचन, शौचालय र बरण्डासहितको एउटा घर निर्माणका लागि ४ लाख २६ हजार ९२७ रुपैयाँ खर्च भएको रञ्जितकारले बताए ।

भद्रपुरको वार्ड नं १ र ३ मा यसवर्ष २४ वटा घर निर्माण गरिएको थियो । बाँकी १४ वटा घर पनि निर्माण सम्पन्न भइसकेको र तिहारअघि नै हस्तान्तरण गर्ने योजना रहेको उनले बताए । विपन्नताको आधारमा छनोट भएका सन्थाल परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्दां श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, १ नं वडाध्यक्ष दशरथ प्रधानले संयुक्तरुपमा घर हस्तान्तरण गरेका थिए । घर हस्तान्तरणसँगै नगर प्रमुख श्रेष्ठले भद्रपुर क्षेत्रमा बसोबास गर्ने लोपोन्मूख सन्थाल समुदायलगायत विपन्न समुदायको संरक्षण र उनीहरुको गाँस, बास र कपासका लागि नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताए । उनले यसवर्ष पनि केही घर निर्माणका लागि बजेट आउनसक्ने जानकारी दिए ।

वर्षाैंदेखि माटो र खरको घरमा जीवन गुजार्दै आएका सन्थाल समुदाय दसैंको बेला नयाँ पक्की घरमा बस्न पाउने भएपछि निकै खुसी देखिएका छन् । उनीहरुले यस कार्यका लागि भद्रपुर नगरपालिकालाई धन्यवाद पनि दिन छुटाएनन् ।

घर निर्माणबा लागि बिर्तामोडस्थित सामाजिक संस्था सहारा नेपालले प्राविधिक सहयोग पुर्याएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । घर हस्तान्तरण समारोहको सञ्चालन इञ्जिनियर योगेन्द्र रञ्जितकारले गरेका थिए ।