झापा । झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालले मेचीनगरको चारआलीमा रहेको धार्मिक तीर्थस्थल पाउ पाथीभरामा दुर्गाको मूर्ति प्रतिस्थापन गरेको छ ।

पाउ पाथीभरा उत्तर गंगा प्रवेशद्वार पर्यटन प्रवद्र्घन समितिको ५औँ स्थापना दिवस तथा बिएण्डसी अस्पतालबाटै निर्माण हुने पूर्वाञ्चल क्यान्सर अस्पतालको स्थापनाका अवसरमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई, अध्यक्ष इन्दिरा गिरी, उमा गिरी, डा. रामबाबु गिरीले १२ फिटको पित्तलको दुर्गाको मूर्ति प्रतिस्थापन गर्नुभएको हो ।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले ५ वर्षअघि बिएण्डसी अस्पताल सञ्चालन गर्दासमेत इलाममा रहेको सानो पाथीभरामा दुर्गाको मूर्ति प्रतिस्थापन गरिएको जानकारी दिनुभयो ।

प्र्रतिस्थापन कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटी, मेचीनगर नगरपालिकाका निमित्त नगर प्रमुख मीना पोखरेल उप्रेतीसहित दाता परिवारले संयुक्तरुपमा अनावरण गर्नुभएको थियो । प्रमुख अतिथि कोइरालाले दाता दुर्गा प्रसाईले झापाको २ नम्बर क्षेत्रमा अस्पताल सञ्चालन गरेर सामाजिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा जति गरे पनि कम हुने बताउनुभयो ।

प्रसाईले शैक्षिक तथा सामाजिक क्षेत्रमा पुर्याउदै आउनुभएको योगदानलाई सफल बनाउनु सबैको दायित्व भएकाले सकैको तर्फबाट साथ सहयोग रहने विश्वास दिलाउनुभयो ।

प्रसाईको सफलताबाट यो समाजले अग्रगति प्राप्त गर्न, उन्नति प्रगति गर्नका लागि उहाँले गर्नुभएको अगुवाइमा आम झापाली जनता, मेचीबासी तथा राष्ट्रकै तर्फबाट शुभकामना समेत व्यक्त गर्नुभयो । यो पाउ पाथीभरा तीर्थस्थल पर्यटकीय स्थलको रुपमा अब विकसित हुँदै गएको भन्दै प्रमुख अतिथि कोइरालाले यहाँ झापाबासीमात्र नभएर टाढा टाढाबाट भक्तजनहरु आउजाउ गर्ने भएकाले पर्यटकीय स्थलको रुपमा विकसित हुँदैछ भन्ने सूचना प्राप्त गरेर भारतीय नागरिकसहित विभिन्न ठाउँहरुबाट यहाँ आउने गरेको बताउनुभयो ।

अब इलाममा रहेको सानो पाथीभरा, ताप्लेजुङमा रहेको ठूलो पाथीभरा तथा झापामा रहेको पाउ पाथीभरालाई जोड्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो । दाताका तर्फबाट अस्पतालका कार्यकारी निर्देशक प्रसाईले बोल्नुभएको थियो । सचिव यमनाथ बरालले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हरिचरण बानियाँ र स्वागत उपाध्यक्ष लोकराज ढकालले गर्नुभएको थियो ।