विनोद सापकोटा,
झापा । ‘पर्यटन भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी नेपालमा पहिलोपटक गौ संरक्षणका लागि आयोजना गर्न लागिएको कोटीहोमको प्रचार नेपालमा भन्दा अन्तर्राष्ट्रिय बजारमा तीव्र भएको पाइएको छ । कात्तिक २७ देखि मंसिर ९ गतेसम्म हुने १०८ कुण्डको कोटीहोमको अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रचार प्रसारकै कारण त्यहाँ चर्चा हुन थालेको हो ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित महाभारत इतिहाससँग जोडिएको धार्मिक तथा पर्यटकीय सताक्षीधाममा पहिलोपटक गौ संरक्षणका लागि १०८ कुण्डको कोटीहोम हुन लागेको हो । अन्तर्राष्ट्रिय विद्वत् परिषदका प्रवक्ता आचार्य घनश्याम खनालले नेपालमा भन्दा भारत, सिङ्गापुर, अमेरिका, जर्मन, मालदिभ्स, अफ्रिकालगायत अन्य मुलुकमा सताक्षीधाममा आयोजना हुने कोटीहोमको प्रचार प्रसार तीव्र भएको बताए ।

पोष्टर, पम्लेटिङ, माइकिङ, ठाँउ ठाँउमा काटीहोमको महत्व र यसको आवश्यकताका विषयमा जानकारी दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसारलाई तीव्र बनाइएको प्रवक्ता खनालले जानकारी दिएका छन् । भारतको दिल्ली, वृन्दावन, मथुरा, गुजरात, हरिद्वार, मुम्वई, कलकता, बनारस लगायत पश्चिम बंगालमा प्रचार प्रसारका लागि सयौँ नेपालीभाषी र स्थानीय हिन्दुवादी स्वयंसेवक परिचालित छन् । आयोजकले नेपालबाहेक विश्वका २० हजार पर्यटक कोटीहोममा सहभागी हुने दाबी गरेको छ । यस्तै नेपालका डेढ लाख आन्तरिक पर्यटक सताक्षीधाम आएर कोटीहोममा सहभागी हुने आयोजकले बताएको छ ।

सताक्षीधाममा ५ वर्ष अघिमात्र स्थापित गोलोक गोवद्र्धन गौशालाले गाईको महत्व, आवश्यकता र शास्त्रीय गुणको बारेमा चेतना दिनुका साथै पर्यावरणीय शुद्धीका लागि कोटीहोमको आयोजना गर्न लागिएको बताएको छ । गौशालका पीठाधीश आचार्य नन्दकिशोर भारद्वाजले कोटीहोमसँगै श्रीसताक्षी अष्टोत्तरशत्कुण्डीय श्री गोपाल महायज्ञ (कोटीहोम) एवं श्रीमद् देवी भागवत कथा महोत्सव समेत आयोजना हुने बताएका छन् । गौशाला स्थापनापछि सताक्षीधाममा वर्षेनी धार्मिक महोत्सव आयोजना हुँदै आएको छ ।

सडकमा यत्रतत्र रहेका, घरगाउँका स्थानीयले पालन पोषण गर्न नसकेका, रोगी, बृद्ध गाईको संरक्षण गर्न, गाईको महत्व र अर्थ बुझाउनका साथै सताक्षीधामको पर्यटन प्रवद्र्धनका लागि कोटीहोम हुन लागेको पीठाधीश भारद्वाजले बताएका छन् ।

कोटीहोम सम्पन्न गर्नका लागि २५ केभिएको ट्रान्सफर्म मिटरलाई हटाएर ५० केभिएको राखिएको छ । नेपालकै ठुलो कोटीहोम झापामा आयोजना हुन लागेकाले यसले पूर्वको गौरवमात्र नभइ धार्मीक एकतामा समेत सहयोग पुर्याउनेमा विश्वास लिइएको छ ।

कोटीहोममा नेपाल लगायत विश्वका ५५१ जना ब्राम्हणले दैनिक होम गर्ने आयोजक गोलोक गोवद्र्धन गौशालाले जनाएको छ । यो संख्यामा पोल्याण्ड, सिंगापुर, भारत, अमेरिका, जोर्डन र जर्मनका चर्चित धार्मिक वक्ता पनि रहनेछन् । आयोजकका अनुसार दिनहुँ धार्मिक गुरुबाट आर्शीवाचन हुनेछ ।

कोटीहोममा आउने अतिथिका लागि करिब ३५ वटा कुटी निर्माण सुरु भएकोे छ । एउटा कुटीमा बढीमा ४ जनासम्म विदेशी पाहुना अटाउने छन् । बाँसका किला, खर र टाटीको बेरामा निर्माण भएको कुटी एटेच वाथरुमसहित हुनेछ । आयोजकका अनुसार विदेशी पाहुना र सर्वसाधरणको सुरक्षाको लागि नेपाल सरकारसँग सुरक्षा व्यवस्था मागिनेछ । सिसी क्यामेरा र ड्रोन क्यामेराबाट कोटीहोम स्थलको सुरक्षा व्यवस्था कडा बनाइने दाबी गरिएको छ ।

कोटीहोमका लागि गजुरसहित ९ तलाको बाँसजन्य बस्तुबाट जडित यज्ञ कुण्ड निर्माण सुरु भएको छ । सोमबारसम्म ३ तलाको यज्ञ मण्डपको छाना निर्माण भइसकेको आयोजकले जनाएको छ ।

यसअघि झापाको कनकाई नदीको पूर्वी तटीय क्षेत्रमा स्व. योगी नरहरि नाथले २०४२ सालमा ५ कुण्डको कोटीहोम आयोजना गरेका थिए । अहिले सो क्षेत्रको नाम कोटीहोम रहन गएको छ । झापाको सताक्षीधाममा आयोजना गर्न लागिएको कोटीहोमको कुण्डीय महत्वका आधारमा नेपालमै पहिलो र ठुलो मानिएको अन्तर्राष्ट्रिय विद्वत् परिषदका प्रवक्ता खनालले दाबी गरे । कोटीहोमले पर्यावरणलाई शुद्ध गर्ने धार्मिक विश्वास छ ।

कोटीहोमका लागि आयोजकले २ करोड रुपैयाँ खर्च हुने अनुमान समेत गरेको छ । आयोजकका अनुसार सबैभन्दा धेरै खर्च चरु २७ हजार किलोग्रामको ७१ लाख हुने बताइएको छ ।