बिर्तामोड । छठ समाज सेवा समिति बिर्तामोडले मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा परोपकार तथा अनुसंधान केन्द्रद्वारा संचालित बृद्धाश्रममा निशुल्क नेत्र जाँच तथा चस्मा वितरण गरेको छ ।

समितिका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं ४ का अध्यक्ष कुलप्रसाद संग्रौला प्रमुख अतिथि थिए । छठ समाजकी महिला उपाध्यक्ष एवं कार्यक्रम संयोजक संगिता रौनियारले स्वागत गरेको कार्यक्रममा वडाध्यक्ष संग्रौला, विक्रम मादेन, मनोज बुढाथोकी, अफरोज खाँन, द्रोपदी गणेश, शुभनारायण गणेशलगायतले शुभकामना दिएका थिए ।

आश्रममा रहेका ४५ जना बृद्धबृद्धाहरुको नेत्र जाँच गरिएको थियो भने जसमा १२ जनालाई मोतियाबिंदु लागेको परीक्षणबाट थाहा भएको थियो । बिरामीहरुलाई निशुल्क औषधि र चस्मा वितरण गरिएको थियो ।

समाजका कोषाध्यक्ष अशोक चौधरीको समन्वय रहेको कार्यक्रममा प्राविधिक रुपमा मेची आँखा अस्पतालकी आउटरिच अफिसर कविता कार्की कडरिया, संतोष कर्णलगायतको सहयोग रहेको थियो ।