अर्जुनधारा । स्थानीयहरुले अवरोध गरेको शनिश्चरे-खुदुनाबारीे सडक खण्डको विवाद समाधान भएको छ । शुक्रबार नगरपालिकामा साँझ अबेरसम्म भएको सर्वपक्षीय छलफलमा सहमति जुटेसँगै सडकको अवरोध हटेको हो ।
अर्जुनधारा नगरपालिकाको समन्वयमा ठेकेदार पक्ष र स्थानीयबीच सहमति भएपछि सडक खुलेको हो । शनिश्चरेबाट खदुनाबारीसम्मको सडकमा पानी हाल्ने र कात्तिक १५ गतेबाट काम नियमित सुचारु गर्ने सहमति भएपछि शुक्रबारदेखि अवरुद्ध सडक सुचारु भएको नगरपालिकाले जनाएको छ ।
योजना सम्झौता भएको १५ महिना बित्दा पनि ठेकेदारको लापरवाहीका कारण सडक स्तरोन्नतीको कार्य नभएको भन्दै स्थानीयहरुले बिहीबारदेखि शनिश्चरे-खुदुनाबारी सडक खण्ड बन्द गरेका थिए ।

शुक्रबार नगरपालिकामा भएको छलफलमा प्रदेश सांसद बृख प्रधान, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, ठेकेदार पोर्तेम्वा शेर्पा, नेपाली काङग्रेसका नगर सभापति हेमराज खरेल, नेपाल कम्युनिष्ट पार्टीका नगर सचिव राजु शेर्मा, अर्जुनधारा ७ का वडा अध्यक्ष नविन ढुंगाना, ८ का अध्यक्ष गोपीचन्द्र गौतम, ६ का वडाध्यक्ष लोकनाथ गौतम, संघर्ष समितिका अध्यक्ष सुरेश गिरी, सचिव राजु खम्बु, सदस्य राजु रन्जितकार, सशस्त्र बल शनिश्चरेका डिएसपी द्रोण बिष्ट, प्रहरी चौकीका इन्चार्ज तथा प्रहरी नायब निरीक्षक पुनमकुमार चौधरीलगायत छलफलमा सहभागी थिए ।
