तेह्रथुम । तेह्रथुममा लिम्बू जातिको संस्कृति बोकेको च्याब्रुङ घर निर्माण सुरु भएको दुई बर्ष बितिसक्दा समेत पूरा हुन सकेको छैन । च्याब्रुङ लिम्बु समुदायको मौलिक बाजा हो । घर निमार्णका लागि थालिएको काम १० प्रतिशत पनि पूरा भएको छैन ।

निर्माण समितिले पहिलो बर्ष छथर गाउँपालिकाले आर्थिक बर्ष २०७४/७५ मा २० लाख छुट्याए पनि समय अभाब भएको भन्दै तीन लाख मात्रै खर्च गरेको थियो । पहिलो बर्ष घर निमार्णका लागि घडेरी सम्याउँदै बित्यो । दोस्रो बर्ष भवन निमार्णका लागि डिपीसी गरी पिल्लर ठड्याउनमै समितिले समय बिताएको छ ।

लिम्बु जातिको जन्मदेखि मृत्यसम्म जोडिएको मौलिक बाजाको आकारको घर निमार्णले गति लिन नसकेको हो । पर्यटन बिकास गर्ने उद्देश्यका साथ स्थानीय सरकारले बार्षिकरुपमा बजेट बिनियोजन गर्दै आए पनि उपभोक्ता समितिले खर्च गर्न नसकेको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए ।

च्याब्रुङकै धुनमा घण्टैपिच्छे बज्ने घडी जडित च्याब्रुङ घर  निमार्णका लागि स्थानीय सरकार गठन भएलगत्तै बजेट बिनियोजन गरी निमार्ण कार्य सुरु भएको थियो । च्याब्रुङ घरभित्र बेग्लै संग्रहालयसमेत हुनेछ ।

त्यसमा लिम्बू जातिभित्रका अनेक थरले चाडबाडमा प्रयोग गर्दै आएका सामान, जन्म, मृत्यु र विवाह संस्कार लगायत झल्कने सामान संकलन गरी राखिनेछ । घरलाई जातीय संग्रहालयका रूपमा विकास गरी इतिहास, धर्म,संस्कार, संस्कृति र पहिचानसँग जोडिएका पुस्तक समेत राख्ने गरी पूर्वाधार निर्माण थालिएको हो ।