विनोद सापकोटा,

झापा । ‘पर्यटन भ्रमण वर्ष २०२०’ को पनि प्रचार हुने उद्देश्यले नेपालमा पहिलो पटक गौ संरक्षणका लागि आयोजना गर्न लागिएको कोटीहोमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । कात्तिक २७ देखि मंसिर ९ सम्म हुने श्री सताक्षी धार्मिक महोत्सव एवं १०८ कुण्डीय कोटीहोमको तयारी अन्तिम चरणमा पुगेको मुल आयोजक समारोह समितिका अध्यक्ष सोम पोर्तेलले जानकारी दिएका छन् ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित महाभारत कालिन इतिहाससंग जोडिएको धार्मिक तथा पर्यटकीय सताक्षीधाममा पहिलो पटक गौ संरक्षणका लागि १०८ कुण्डको कोटीहोम हुन लागेको हो । अन्तर्राष्ट्रिय विद्वत परिषद्का प्रवक्ता आचार्य घनश्याम खनालले नेपालमा भन्दा भारत, सिङ्गापुर, अमेरिका, जर्मन, मालदिभ्स, अफ्रिका लगायत अन्य मुलुकमा सताक्षीधाममा आयोजना हुने कोटीहोमको प्रचारप्रसार तीव्र भएको जानकारी दिए ।

पोष्टर, पम्लेटिङ्ग, माइकिङ्ग, ठाउँ ठाउँमा कोटीहोमको महत्व र यसको आवश्यकताका विषयमा जानकारी दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसारलाई तीव्र बनाइएको प्रवक्ता खनालले जानकारी दिएका छन । भारतको दिल्ली, वृन्दावन, मथुरा, गुजरात, हरिद्वार, मुम्वई, कलकता, बनारस लगायत पश्चिम बंगालमा प्रचार प्रसारका लागि सयौँ नेपालीभाषी र स्थानीय हिन्दुवादी स्वयंसेवक परिचालित भएका छन् ।

आयोजकले नेपालबाहेक विश्वका २० हजार पर्यटक कोटीहोममा सहभागी हुने दाबी गरेको छ । यस्तै नेपालका ५ लाख आन्तरिक पर्यटक सताक्षीधाम आएर कोटीहोममा सहभागी हुने आयोजक समितिका सह संयोजक शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए छन् ।

गोलोक गोवद्र्धन गौशालाका अध्यक्ष तथा धार्मिक महोत्सव मुल आयोजक समारोह समितिका संरक्षक नन्दकिशोर भारद्वाजले गाईको महत्व, आवश्यकता र शास्त्रीय गुणको बारेमा सर्वसाधारणलाई चेतना दिनुका साथै पर्यावरणीय शुद्धीका लागि कोटीहोमको आयोजना गर्न लागिएको बताए ।

गौशालका पिठाधीशसमेत रहेका आचार्य नन्दकिशोरले कोटीहोमसंगै श्रीसताक्षी अष्टोत्तरशत्कुण्डीय श्री गोपाल महायज्ञ (कोटीहोम) एवं श्रीमद् देवी भागवत कथा महोत्सवसमेत आयोजना हुने बताएका छन् ।

कोटीहोममा नेपाललगायत विश्वका ५५१ जना ब्राह्मणले दैनिक होम गर्ने आयोजकले जनाएको छ । यो संख्यामा पोल्याण्ड, सिंगापुर, भारत, अमेरिका, जोर्डन र जर्मनका चर्चित धार्मिक वक्ता पनि रहनेछन् । कोटीहोममा आउने अतिथिका लागि करिब ३५ वटा कुटी निर्माणको अन्तिम चरणमा पुगेको छ ।

एउटा कुटीमा बढीमा ४ जनासम्म विदेशी पाहुना अटाउन सक्नेछन् । बाँसका किला, खर र टाटीको बेरामा निर्माण भएको कुटी एटेच वाथरुमसहित हुनेछ । आयोजकका अनुसार विदेशी पाहुना र सर्वसाधारणको सुरक्षाको लागि नेपाल सरकारसंग सुरक्षा व्यवस्था मागिनेछ । त्यसका अलावा स्वयंसेवक, सिसी क्यामेर र ड्रोन क्यामेराबाट कोटीहोम स्थलको सुरक्षा व्ययस्था कडा बनाइने भएको छ ।

कोटीहोमका लागि गजुरसहित ७ तलाको बाँसजन्य बस्तुबाट जडित यज्ञ कुण्ड निर्माण सम्पन्न भएको छ । कोटीहोमका लागि आयोजकले २ करोड रुपैयाँ खर्च हुने अनुमान समेत गरेको छ । आयोजकका अनुसार सबैभन्दा धेरै खर्च चरु २७ हजार किलोग्रामको ७१ लाख हुने बताइएको छ ।

कोटीहोममा आगन्तुक पाहुनाको स्वागतका लागि पूर्व पश्चिम राजमार्गमा ३० वटा स्वागत द्वार निर्माण गरिएका छन् भने सहायक मार्गमा १० वटा स्वागत द्वार निर्माण सम्पन्न भएको छ । पिउने पानी, आवास, भोजनालय, विद्युत् लगायतका पूर्वाधार निर्माण भइसकेका छन् भने मोवाइलका उपभोक्ताका लागि नेटवर्कको व्यवस्था मिलाउने काम भइरहेको छ ।

झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले सताक्षीधाम धार्मिक महोत्सवका लागि सुरक्षा व्यवस्था कडा पारिने बताए । आवश्यक जनशक्ति सताक्षीधाममा पठाउने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।