कालिस्थान । अर्जुनधारा १० नम्बर वडा समितिले स्थानीय पशुपालक कृषकको आर्थिक समृद्धिका लागि यस वर्ष पनि पशु परजीवी कार्यक्रमलाई निरन्तरता दिएको छ ।
वडामा रहेका पशुपालक कृषकहरुलाई लक्षित गरी १० नम्बर वडा समितिले शुक्रबार वडाको विभिन्न पाँच स्थानमा शिविरको आयोजना गरी पशु परजीवी नियन्त्रण कार्यक्रम सम्पन्न गरेको हो । वडा कार्यालयले गत वर्ष पनि यस्तै शिविरको आयोजना गरेको थियो । त्यसअघि नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाले कार्यक्रम आयोजना गरेको थियो ।
नगर पशुपन्छी, मत्स्य विकास शाखाको प्राविधिक सहयोगमा वडाका आनन्द नगर टोल, मेडिकल चोक, शिव पाञ्चायन मन्दिर परिसर, सट्टाभर्नास्थित मुक्ति चोक र सिमल चोकमा सञ्चालन गरिएको उक्त कार्यक्रमको उद्घाटन वडाध्यक्ष बलदेवसिंह गोम्देनले स्थानीय भीम बस्नेतको गाईलाई नाम्लेको औषधि खुवाउँदै गरेका थिए ।
विगतका वर्षमा आयोजना गरिएका शिविर कृषकलाई लाभदायी भएको प्रतिक्रिया आएपछि यसलाई निरन्तरता दिइएको वडाध्यक्ष गोम्देनको भनाइ छ । वडाका ९० प्रतिशत बासिन्दा कृषिमा आधारित भएकाले कृषकको पशु धन सुरक्षाको लागि वडाले बजेट विनियोजन गरेको उनले बताए ।
वडाको विकास बाटो, पुल बनाउँदैमा नहुने तर्क अघि सारेका उनले आर्थिक समृद्धिका लागि कृषकको आर्थिक पक्ष सुदृढ हुनुपर्नेमा जोड दिए ।

प्राविधिकको प्रत्यक्ष निगरानीमा औषधिको सही मात्रा खुवाइने हुँदा कृषकहरुको लागि सो कार्यक्रम फलदायी हुने नगर पशुपन्छी, मत्स्य विकास शाखाका प्रमुख पदमलाल राईले बताए । उक्त कार्यक्रमको लागि वडाको बजेटबाट एक लाख ७५ हजार रपैयाँ विनियोजन भएको वडा सदस्य भोलानाथ गौतमले बताए ।
कार्यक्रममा ३८९ जना कृषकका ११सय ७ वटा बाख्रा, ४८९ वटा गाई, १०९ वटा बंगुर, १०२ वटा भैंसी, २१ वटा गोरु, ५ वटा कुकुरसहित जम्मा १हजार ८३३ वटा पशुलाई जुका, नाम्ले, किर्नालगायतको औषधि खुवाइएको तथा वितरण गरिएकोे वडा सचिव कृष्ण नेपालले जानकारी दिए ।
वडाध्यक्ष गोम्देनको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्यहरु भोलानाथ गौतम, सकुन्तला बराल, फिपराज कुरुम्वाङ र सीता परियार, जनक चौलागाईंलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव नेपालले गरेका थिए ।