बिर्तामोड । चिकित्सकको लापरबाहीका कारण पाँच महिने शिशुको मृत्यु भएको आरोप लगाउँदै मृतक शिशुका आफन्तले बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पताल तोडफोड भएको छ ।

बिर्तामोड १० सैनिक बजारका विजय लिम्बूका ५ महिने शिशु विपिषा लिम्बूको गएराति उपचारको क्रममा मृत्यु भएको थियो ।

निमोनिया भएर मंगलबार दिउँसो अस्पताल भर्ना गरिएकी विपिषालाई इन्जेक्सन लगाएलगत्तै पेट फुलेको र उनको मृत्यु भएको पीडितको आरोप छ । उनीहरुले चिकित्सकको चरम लापरबाहीले शिशुको मृत्यु भएको भन्दै बुधबार अस्पताल तोडफोड गरेका हुन् ।

बिहानैबाट उपचारमा सम्लग्न चिकित्सकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका मृतकका आफन्तले अस्पताल तोडफोड गरेका थिए ।

विवाद बढ्दै गएपछि अहिले इलाका प्रहरी कार्यालयमा सर्वपक्षीय बैठक बसिरहेको छ भने अस्पतालमा प्रहरी तैनाथ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।