झापा । झापाको बुद्धशान्ति १ होक्सेस्थित ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीमा पुर्वजहरुले प्रयोग गरेका विभिन्न ऐतिहासिक वस्तुहरुको संरक्षण गर्न निर्माणाधिन संग्रहालय भवनलाई पूर्णता दिन ब्रह्माण्ड महापुराण लगाइने भएको छ ।
यही मंसिर २० गतेदेखि २६ गतेसम्म लाग्ने श्री ब्रह्माण्ड महापुराणको उद्घाटन प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले गर्ने भएका छन् । महापुराणमा दैनिक पाठ पारायण, कथा प्रवचन, पुजन हवन गरिने पुराण आयोजक मुल समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
पुराण प्रमुख बाचक विश्वभरि धार्मिक प्रवचन दिएर चर्चाको शिखरमा रहेका धार्मिक प्रवचक चैतन्य कृष्ण महाराज तथा उपबाचक पं लक्ष्मी तिम्सिनाबाट कथा बाचन पाठ पारायण, संगीतमय भजन कीर्तन गरिने मूल आयोजक समितिका उपाध्यक्ष नन्दकुमार तिम्सिनाले जानकारी दिए ।
महापुराण सम्पन्न गर्न ८ लाख खर्च हुने अनुमान गरिएको पुराणबाट कम्तिमा ३० लाख रुपैयाँ बराबरको धनराशि संकलन गर्ने लक्ष्य राखिएको आर्थिक उपसमितिका संयोजक नन्दकुमार तिम्सीनाले बताए ।
पुराण सम्पन्न गर्न १०१ मुल आयोजक समिति चयन गरिएको छ भने बिभिन्न १२ उपसमिति बनाइएको चौतारीका अध्यक्ष मोहन तिम्सिनाले जानकारी दिए । ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीमा प्रत्येक वर्ष पुराण लगाउँदै आएको छ ।
पुराणको सम्पूर्ण तयारी पुरा भएको र पुराणले यस ठाँउलाई ज्येष्ठ नागरिकले माया नपाए ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारी होक्से जानु भन्ने संदेश दिन पनि पुराण लगाउन लागिएको प्रचारप्रसार संयोजक टेकनाथ ढकालले जानकारी दिए ।
ज्येष्ठ नागरिकहरुलाई बृद आश्रममा राख्न हुँदैन भन्दै स्थानिय होक्से कृषि सहकारीको संयोजनमा विगत ५ वर्षयता झापाको बुद्धशान्ति गाँउपालिका १ स्थित होक्से चौकमा ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारी संचालन हुँदै आएको छ । जहाँ १५० ज्येष्ठ नागरिकहरु साप्ताहिक रुपमा भेला भएर जातीय सँस्कृति झल्कने विभिन्न खालका कार्यक्रम गर्ने , एक आपसमा सुख दुःखका भलाकुसारी गर्ने तथा जन्मदिन मनाउने गरेका छन् ।