झिलझिले । झापाको शिवसताक्षीमा सामुदायिक भवन निर्माण हुने भएको छ । स्थानीय वडा नम्बर ८ स्थित श्रीकृष्ण प्रणामी मन्दिर विकास समितिले सामुदायिक भवन निर्माणको तयारी गरेको हो ।

झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा (क)का सांसद झलकबहादुर दर्लामी मगरले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरे । उनले प्रदेश सभाबाट वितरण हुने निर्वाचन क्षेत्र विकास कोषको आफ्नो निर्वाचन क्षेत्र नम्बरमा आउने रकमबाट कम्तिमा १ लाख रुपैयाँ सामुदायिक भवन निर्माणमा सहयोग गर्ने बताए ।

स्थानीय विश्वराज ओझा र अम्बिका ओझाले ०२९ सालमा दिएको जग्गामा उक्त भवन निर्माण हुन लागेको हो । ओझाले त्यसताका १० धुर जग्गा दान गरेका थिए । उक्त जग्गा बिक्री गरेर पुनः खरिद गर्दा हाल उक्त जग्गाको क्षेत्रफल ९ कठ्ठा पुगेको श्रीकृष्ण प्रणामी मन्दिर विकास समितिका अध्यक्ष केशव पौडेलले बताए ।

सामुदायिक भवन निर्माणका लागि स्थानीय उपभोक्ताको भेलाले दिलदास भट्टराईको अध्यक्षतामा ९ सदस्यीय सामुदायिक भवन निर्माण उपभोक्ता समिति गठन गरेको छ । उपभोक्ता समितिसँग १९ लाख रुपैयाँ भए पनि भवनको निर्माणको लागत ३० लाख रुपैयाँ खर्च हुने उपभोक्ताले बताएका छन् । निर्माण लागतमा नपुगेको रकम स्थानीय सरकार र दातासँग माग गर्ने उपभोक्ता समितिका अध्यक्ष भट्टराईले बताए ।

एक तलाको आरसीसी भवन २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने उपभोक्ता समितिले जानकारी दिएको छ । सामुदायिक भवन निर्माण भएपछि स्थानीयलाई विवाह, उत्सवलगायतका ठुला कार्य गर्न सहज हुने उपभोक्ता समितिका सचिव मदन सिवाकोटीले बताए ।