भूमिका पाख्रिन,
लेटाङ । सरकारले अंग्रेजी वर्ष २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णयसँगै सामाजिक सञ्जालमा भिजिट नेपाल २०२० ह्यासट्याग हुने क्रम पनि तीव्ररुपमा बढेको छ । नेपालमा सर्वाधिक पर्यटन भित्राउन सफल सहर पोखरा होस् या मनाङ/मुस्ताङ । अथवा पूर्वकै सुन्दर नगरी इलाम, यतिबेला पर्यटकको घुइँचो बढ्न थालेको छ । आन्तरिक र बाह्य दुबैखाले पर्यटकहरु भित्रिने क्रम सँगसँगै आ–आफ्ना क्षेत्रमा बढेका पर्यटकीय चापले छुट्टै रौनतकता थपेको छ ।
प्राकृतिकरुपमा अत्यन्तै सुन्दर देश नेपाल विविधताले भरिपूर्ण छ । त्यसो त कला, संस्कृति र परम्पराको अनुपम नमुना हाम्रो देश नेपाल जलस्रोतमा दक्षिण एसियाकै प्रथम धनी राष्ट्र पनि हो । नेपालको पूर्वी क्षेत्रको कुरा गर्ने हो भने पर्यटकीय गन्तब्यहरु प्रशस्त नै छन् । कन्याम, श्रीअन्तु, फिक्कल हुन् या भेडेटार, नमस्ते झरना, मुलघाट, हिले उत्तिकै परिचित छन् । सायद यी ठाउँ नपुगेका सायदै कोही हुन्छन् । यद्यपि, कतिपय यस्ता पर्यटकीयस्थल पनि छन्, जो प्रचारप्रसारको कमी, यातायातको असुविधा लगायत विविध कारणले प्रचुर सम्भावना हुँदाहुँदै पनि आझेलमा परेका छन् । उत्तरी मोरङमा पर्ने लेटाङ नगरपालिका मोरङको एक विकट नगरपालिका पनि हो । त्यसो त लेटाङ नगरपालिकालाई मोरङको कर्णाली भनेर समेत चिनिने गरिन्छ । देशकै प्रमुख राजमार्गबाट ८ किलोमिटर टाढा मात्रै रहेको लेटाङ नगरपालिकाको कतिपय वडाहरुमा यातायातको सुविधा पुग्न नसक्नु आफैँमा दुःखद् हो । यस अर्थमा पनि लेटाङ नगरपालिकालाई कर्णालीसँग दाँज्दा अनौठो मान्नु पर्दैन । बजारमा मात्रै स्रोत साधनको पहुँच पुगेता पनि नगरकै अन्य केही वडामा पूर्वाधारहरुको अभावमा अनेकौँ सम्भावना हुँदाहुँदै पनि यहाँका सर्वसाधारणले कष्टकर जीवन निर्वाह गर्न बाध्य छन् ।
महेन्द्र राजमार्गबाट ८ किलोमिटर उत्तरमा पर्ने लेटाङ नगरपालिका भौगोलिकरुपमा विकट भएता पनि पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै सम्भावना बोकेको नगर हो । बजार इलाका सुगम र विभिन्न सुविधायुक्त सहर भए पनि अधिकांश पहाडी क्षेत्र पर्दछन् । सरकारले अंग्रेजी वर्ष २०२० मा २० लाख पर्यटकलाई भित्राउने लक्ष्य लिएको समाचार हामीले पढिरहेका छौँ । तर, लेटाङको वडा नं. १ मा अवस्थित किशे झरना स्वयम् लेटाङ नगरमै पनि गुमनामको अवस्थामा रहेको छभन्दा खासै फरक नपर्ला । नजिकको देउता हेला भनेझैँ नगरबाटै त्यति संरक्षण नपाउनु आफैँमा दुःखद् छ । साविकको भोगटेनी गाविस वडा नं. ६ मा पर्ने किशे झरना, हाल भोगटेनी गाविस लेटाङ नगरपालिकामा समाहित भएसँगै लेटाङको वडा नं. १ मा पर्दछ । लेटाङ बजारबाट चारचक्के सवारी साधनमा २ घण्टाको यात्रापछि किशेटार पुग्न सकिन्छ । जहाँ पुग्न लेटाङ बजारबाट २० किलोमिटर दूरी पार गर्नु पर्छ ।
हालसम्म सार्वजनिक यातायातका साधन पुग्न नसकेको उक्त स्थानमा निश्चित रकम तिरेपछि निजी गाडीहरुले त्यहाँ पुराउने गर्छन् । यस अर्थमा रिजर्भ गाडीहरुमात्रै किशेटार पुग्न सक्छन् । बाटोको अवस्था त्यति सहज भने पक्कै छैन । किशेटार पुगेपछि झरना पुग्न कम्तीमा २० मिनेट पैदल हिँड्नु पर्छ । २० मिनेट समय र दूरीमा थोरैजस्तो लागेता पनि भौगोलिक विकटताका कारण सो २० मिनेट पैदल हिँड्न निक्कै गाह्रो छ ।
तर, बाटोमा हिँड्दा चिसाङ खोला बगेको आवाज, चराचुरुङ्गीको चिरविराहटले पैदलयात्रीलाई बाटो काटेको पत्तै हुँदैन भने नजिकका अत्यन्तै सुन्दर डाँडापाखाहरु हेर्दा ती भौगोलिक विकटताका कारण दूरी पार गर्दा हुने समस्या गौण सावित हुन्छन् । त्यसो त लेटाङ बजारबाट किशेटारको यात्रामा निस्किँदा बाटोमा धार्मिकस्थल राजारानी पनि आइपुग्छ । राजारानी आफैँमा पनि इतिहास बोकेको तीर्थस्थल हो । तालमा परिणत हुने क्रममा रहेको राजारानीमा ४० वटाभन्दा बढी प्रजातिका सुनाखरी पाइन्छन् । यतिमात्र होइन, धिमाल जातिको उत्पत्तिस्थलका रुपमा समेत चिनिने यस स्थानमा धार्मिक मनोकामनाका दृष्टिले पनि उत्तिकै परिचित छ ।
यद्यपि, किशेटार पुग्न आफूसँग छुट्टै साधन नहुने हो भने राजारानी दर्शन गर्न भने असमर्थ भइनेछ । किनकी हामी राजारानी दर्शन गरिरहँदा किशे झरना पुग्न समय झन् अपुग हुन्छ । अत्यन्तै सम्भावना बोकेको पर्यटकीयस्थल किशे झरना वास्तवमै ओझेलमा परेको छ । मोरङको लेटाङ नगरपालिका वडा नं. १ स्थित किशे झरना झण्डै ४० मिटर अग्लो छ । अधिकांश मगर जातिको बाहुल्यता रहेको यस ठाउँमा केही लिम्बू जातिको समेत बसोबास रहेको पाइन्छ । समग्रमा जनजातिको बसोबास रहेको यस ठाउँलाई किशेटार र झरनालाई किशे झरना भनिन्छ ।
वडा सदस्य चन्चलाल मगरका अनुसार मगर भाषामा किशे भन्नाले मृग भन्ने बुझिन्छ । यस ठाउँमा मृग धेरै पाइने हुनाले यस ठाउँलाई किशेटार र झरनालाई किशे झरना भनेर नामाकरण गरिएको मगरले बताए । त्यसो त यो झरना नजिकै सिंहदेवीको मन्दिर पनि छ । तर, उचित संरक्षणको अभावमा मन्दिर पनि आझेलमा परेको उनले गुनासो गरे । स्थानीयबासी मनकुमार मगरको पनि तर्क उति फरक छैन । अत्यन्तै सुन्दर ठाउँ भएर पनि प्रचारप्रसार नहुँदा यस ठाउँमा पर्यटक नभित्रिएको उनको भनाइ छ । झरनालाई अझ परिचित गराउन समिति नै गठन गरी अगाडि बढ्ने प्रक्रियामा रहेको उनले बताए ।
त्यसो त यस ठाउँमा यातायातको सुविधामात्र होइन, शिक्षा, स्वास्थ्य खानेपानीको पनि उपलब्धता सहज तरिकाले प्राप्त गर्न कठिन छ । भौगोलिक विकटताका कारण विद्यालय पुग्न पनि १ घण्टा लाग्छ, सिंगो साविकको भोटगेनी गाविस हाल लेटाङ नपा वडा नं. १ भएकोमा यस क्षेत्रमा ६ वटा सरकारी विद्यालय रहेको र हालसम्म यस वडामा निजी विद्यालयहरु खुल्न सकेका छैनन् । सामान्य रुघाखोकी होस् या ज्वरो आउँदा मात्रै पनि वडाकै स्वास्थ चौकी पुग्न पनि १ घण्टाभन्दा बढी समय लाग्छ । कृषिमा निर्भर यस वडाका बासिन्दा अम्लिसो (कुचो) खेती गर्छन् । पशुपालन पनि यहाँका मानिसको प्रमुख पेसा हो । यहाँका मानिसहरु भटमास, दाललगायत मौसम अनुसारको सागसब्जी उब्जनी गरी बेचविखन गरी आय आर्जन गर्छन् । नगरले बजेट छुट्याउँदा यस वडालाई प्राथमिकतामा राखे पनि भौगोलिकरुपमा अत्यन्तै विकट भएकाले पनि यस क्षेत्रलाई बजेट अपुग हुनु स्वाभाविक रहेको नगर उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले बताइन् । प्रचारप्रसार अभावकै कारण किशे झरना ओझेलमा परेको स्वीकार्दै चाँडै नै यस झरनासम्म यातायातको सुविधा पु¥याउन नगरले हाल तीव्ररुपमा काम गरिरहेको समेत पोखरेलले बताइन् । साथै नगरले ४ लाख बजेट छुट्याएको भएता पनि किशे झरना लेटाङको शान भएकाले पनि आगामी वर्ष अझ थप गर्दै झरनालाई प्रचारप्रसार गर्न नगर प्रतिवद्ध रहेको उनले बताइन् ।
यस्तै, वडाअध्यक्ष विष्णु मगरको भनाइ पनि उति फरक छैन । लेटाङ नगरपालिकाको वडा नं. १ विकट मात्र नभइ यातायातको असुविधाले नै झरनालगायत अन्य ठाउँहरु ओझेलमा पर्नुको मुख्य कारण रहेको उनको भनाइ छ । ‘पक्कै पनि नगरले यस क्षेत्रको सम्भावना बुझेको नै छ’, उनले आशा व्यक्त गर्दै भने । आफ्नो वडामा प्रचुर मात्रामा पर्यटक भित्राउने सम्भावना भएर पनि भौगोलिक विकटताका कारण पर्यटन भित्राउन नसकेको मगरको भनाइ छ । तर, बिजुली बत्तीको प्रक्रिया अगाडि बढेको साथै हाल टावर निर्माणका क्रममा रहेकाले अब भने सञ्चारमा समेत सहज हुने उनले बताए ।
नगर, प्रदेशले यस झरना जाने बाटो निर्माणमा मुख्य प्राथमिकतामा राख्दै छिटो काम सम्पन्न गर्ने हो भने यसको सम्भावना ज्यादै रहेको कुरा नकार्न सकिँदैन । पर्र्यटनको सम्भावना बोकेको किशे झरनालाई प्रदेश सरकारले पनि प्रत्यक्ष सहयोग गर्नसकेमा प्रदेशकै गहनाका रुपमा किशे झरना पर्यटकीय गन्तब्यको रुपमा विकसित हुनेमा दुइमत छैन ।