विनोद सापकोटा,
झापा । शहरीकरणको रुपमा विकास हुँदै गएको शिवसताक्षी नगरमा रिङ्गरोड निर्माणले गति लिएपछि बसाइँ सरिगएका स्थानीय पुनः आफ्नै गाउँ फर्किन थालेका छन् ।
यातायात, शिक्षा, खानेपानी, सिँचाइ, सडक र सुरक्षाको असुविधाले बसाइँ सरेका शिवसताक्षी ३ का विस्थापित पुनः गाउँमै फर्किएका हुन् । ‘वर्षातको समयमा घरभित्र पस्न र निस्कनै मुस्किल पर्नेगरी गाउँ नै डुबानमा पथ्र्यो’, आफ्नै गाउँ फर्किएका विष्णु भट्टराईले भने, ‘नगरमा रिङ्गरोड बनेपछि डुबानको समस्या टरेको छ ।’ भट्टराई शिवसताक्षीबाट दमक बसाइँ सरेका थिए ।
नगरमा रिङ्गरोडसँगै दुवैतर्फ नाला (ड्रेन) निर्माण भएको छ । हालको अस्थायी प्रकृतिको ड्रेनलाई कंक्रिटमा परिणत गरेपछि गाउँको डुबान समस्या समाधान भएको हो । साविकको धरमपुर हाल शिवसताक्षी नगरको वडा नम्बर १, २ र ३ नम्बरको पश्चिमी क्षेत्र साविकका पाँचगाछी, शिवगञ्ज र सतासीधामसँगको सडक सञ्जालमा जोडिने यसअघि सम्भावना थिएन ।
उनले भने, ‘पूर्वपश्चिम राजमार्गसँग पनि नगरको रिङ्गरोड जोडिएपछि यहाँका स्थानीयलाई जिल्लाकै सदरमुकाममा रहेको जस्तो अनुभव हुन थालेको छ ।’ रिङ्गरोडले विकासको सम्भावना पनि बलियो बनाएको उनले बताए ।
भट्टराईजस्तै बसाइँ सरेका अन्य ११ घरपरिवार पनि फर्किएकौ ३ नम्बर वडाका अध्यक्ष पुण्य सापकोटालु बताए । वर्षामा हुने हिलाम्मे गाउँले कसैलाई पनि सहज नभएको, सडक निर्माण भएपछि पुरानै गाउँ फर्कनुको विकल्प नभएर फर्केर आएको स्थानीय सन्तोष तामाङ्गले बताए ।
रिङ्गरोड बन्न थालेपछि जग्गाको बिक्री भाउ पनि बढेको स्थानीयले बताएका छन् । एक कठ्ठा जग्गा रिङ्गरोडले खाए पनि बाँकी रहेको जग्गाको मूल्य दोब्बर भएको स्थानीय भवानी शंकर भट्टराईले बताए । भट्टराईले भने, ‘नगरमा रिङ्गरोड बनेपछि दमक, बिर्तामोडलगायतका ठुला सहरका मानिस गाउँमा जग्गाको खरिद बिक्री गर्न आउन थालेका छन् ।’
शिवसताक्षी नगरकार्यपालिकाको पहिलो बोर्ड बैठकमै नगर प्रमुख चन्द्रकुमार शेर्माले नगर गौरवको योजनामध्ये रिङ्गरोड निर्माणको पहिलो प्रस्ताव ल्याउँदा सर्वसम्मत स्वीकृत भएकोे थियो । कतिपय स्थानीयले रिङ्गरोड नगर प्रमुखको महत्वकांक्षी योजना भन्दै खिल्ली उडाएका थिए । उनले भने, ‘निर्वाचनताका मैले सर्वसाधरण जनतासँग बोलेको कुरा अक्षरस पूरा गर्नेमा कुनै सन्देह छैन ।’ नगरपालिकाको पहिलो निर्णय र नगरकार्यपालिकाको प्राथमिकतामा रहेको नगरको रिङ्गरोड पाँच वर्षमै पूरा गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।
निर्वाचनताका शेर्माले जारी गरेको घोषणापत्रमा पनि रिङ्गरोडको अवधारणा थियो । शिवसताक्षीका कतिपय अन्तरपार्टीका नेता कार्यकर्ता पनि शेर्माको कार्यशैलप्प्रति सन्तुष्ट देखिएका छन् ।
धरमपुरबाट सुरु रिङ्गरोड जनता बजारहुँदै माईधारसम्मको ३९ किलोमिटर दूरीको छ । त्यसमध्ये ९ किलोमिटर एसियन हाइवे हो । धरमपुर–चर्चाबारी १५ सय मिटर सडक कालोपत्रे भइसकेको छ । यस्तै अन्य क्षेत्रमा पनि १ किलोमिटर सडक कालोपत्रे नगर आफैँले निर्माण गरेको छ । शिवगञ्ज–नहरचौकसम्मको ६ किलोमिटर सडक पनि यसअघि नै साविकको जिल्ला विकास समितिले निर्माण गरिसकेको छ ।
अब नगरलाई २२.५ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको इन्जिनियर महेश भण्डारीले बताएका छन् । नगरकार्यपालिकाले चालु आवमा ५० लाख रुपैयाँ खर्च गरेर रिङ्गरोडको अप कालोपत्रे गर्न ठेक्का आह्वान गरेको छ । हालसम्म नगरले रिङ्गरोडको अपग्रडिङ्गका लागि ६ करोड २४ लाख खर्चेको नगरको आर्थिक प्रशासन शाखाले जनाएको छ ।
रिङ्गरोडबाट सिधा शिवसताक्षी नगरकार्यपािलकाको कार्यालयमा जोडिन ४ करोड २० लाख रुपैयाँको लागतमा ट्रङ्करोड समेत निर्माण भइसकेको छ । रिङ्गरोडमा पर्ने २४ वटा कल्भर्ट र बक्स कल्भर्ट निर्माण सम्पन्न भएको नगरका सूचना अधिकारी प्रकाशचन्द्र चौधरीले जानकारी दिए । उनले भने, ‘पञ्चवर्षीय योजनाको रिङ्गरोड अबको अढाई वर्षमा निर्माण सम्पन्न हुनेछ ।’
रिङ्गरोड निर्माणपछि पर्यटकीय गन्तव्यका रुपमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि समेत सहज हुने भएको छ । उक्त रिङ्गरोडलाई दुधे–शिवगञ्ज, झिलझिले–माहाभारा र धरमपुर–पाँचगाछीको वैकल्पिक मार्गको रुपमा प्रयोगसमेत गर्न सकिने स्थानीयले बताएका छन् ।