शनिश्चरे । अर्जुनधारा नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि बिहीबार स्थानीय संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिसँग अन्तक्रिया गरेको छ ।

शनिश्चरेको सामुदायिक भवनमा आयोजित कार्यक्रममा सहभागी स्थानीय संघसंस्थाका प्रतिनिधिले नगरले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । सहभागीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गुरुयोजना बनाउन जरुरी रहेको पनि सुझाएका छन् ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बृख प्रधानले पर्यटनको अथाह सम्भावना हुँदा हुँदै पनि प्रचारमा कमी रहेको हुनाले यसको तीव्र प्रचारप्रसार गर्नुपर्ने सुझाए । उनले धार्मिक र पर्या पर्यटनको प्रचुर सम्भावना भए पनि त्यसको सही सदुपयोग हुन नसकेकोमा नगरपालिकाले ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।

यहाँको आदिवासी जनजाति समुदायको संस्कृतिलाई प्राथमिकता दिएको खण्डमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने बताउँदै उनले पर्यटकीय क्षेत्रमा आउने पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन नगर तयार रहन आग्रह गरे ।

नगरका मेयर हरिकुमार रानाले पर्या पर्यटन र कृषिका लागि प्रचुर सम्भावना भएको अर्जुनधारा नगरपालिकालाई कृषि अध्ययनको क्षेत्र बनाउने बताए । उनले पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले निर्माण गर्ने गुरुयोजनालाई सहयोग गर्न स्थानीयबासीसँग आग्रह गरेका छन् ।

नगरकी उपमेयर कमला आचार्यले पर्यटकसँग सभ्य र शिष्ट भएर मन जित्नका लागि व्यवसायीलाई प्रशिक्षित गर्नुपर्ने बताइन् । अर्जुनधारा भ्रमणमा आउने पर्यटकले कोसेलीका रुपमा स्थानीय उत्पादन लान सक्ने वाताबरण बनाउनुपर्ने उनको भनाइ थियो ।

नेकपाका नगर अध्यक्ष प्रेमसागर सापकोटाले नगरपालिकाले प्रवेशद्वारमा नगरमा रहेका पर्यटकीय स्थलको दूरीसहितको नक्सा राख्नुपर्ने बताए ।

अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले पर्यटकलाई स्थानीय पर्यटनस्थलको बारेमा जानकारी दिनसक्ने युवा परिचालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी, महिला प्रतिनिधि, व्यवसायीलगायतले अर्जुनधारा नगर क्षेत्रमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसारमा जोड दिइनुपर्ने बताएका थिए ।