खुदुनाबारी । झापाको अर्जुनधारा-३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले विपन्नलाई न्यानो कपडा तथा सहयोगीलाई पुरस्कृत गर्दै २४औं उपभोक्ता भेला सम्पन्न गरेको छ ।
सामुदायिक वन परिसरमा शुक्रबार आयोजित कार्यक्रममा सोही क्षेत्रका २३ जना अपाङ्गता भएका उपभोक्तालाई न्यानो कपडा वितरण गरिएको थियो भने डढेलो नियन्त्रणमा सहयोग पु¥याउने सात जनालाई जनही एक हजार रुपैयाँबाट पुरस्कृत गरियो ।
प्रदेश १ सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेलले, आन्तरिक लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक रामकुमार महतले, चालु आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम कोषाध्यक्ष हरिराम शर्माले र अनुगमन समितिको प्रतिवेदन सहसंयोजक लक्ष्मीप्रसाद शर्माले प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा गत आर्थिक वर्ष ०७५/०७६मा दुई करोड ५८ लाख ४५ हजार २२९ रुपैयाँ सात पैसा बराबरको आम्दानी गरेको समूहले चालु आर्थिक वर्ष ०७६/०७७को लागि अनुमानित तीन करोड छ लाख ११ हजार ४९७ रुपैयाँ बराबरको बजेट उल्लेख गरेकोे छ ।
समूहले उक्त बजेटको लागि कृषि सामग्री, दाउरा, लकडी र फर्निचर बिक्रीबाट एक करोड ६८ लाख १७ हजार ६५ रुपैयाँ र अन्य आम्दानीबाट एक करोड ३७ लाख ९४ हजार ४३२ रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।
पेश गरिएको बजेटमध्ये गरिबी न्यूनीकरणतर्फ ५८ लाख ८५ हजार ९७० रुपैयाँ, कैदले पर्यापर्यटनतर्फ ५२ लाख रुपैयाँ, वन विकासतर्फ ४८ लाख ४४ हजार, वन पैदावर संकलनतर्फ १५ लाख १७ हजार ५४० रुपैयाँ, सार्वजनिक विकास निर्माणतर्फ १५ लाख, प्रशासनिक खर्चतर्फ १४ लाख १० हजार, ट्याक्टर सञ्चालनतर्फ ११ लाख ८० हजार, कर्मचारी तलबतर्फ नौ लाख २३ हजार, लकडी चिरान तथा व्यवस्थापन खर्चतर्फ नौ लाख चार हजार ८०९रुपैयाँ विनियोजन गरिएकोे छ ।
त्यस्तै, फर्निचर निर्माणतर्फ छ लाख ९२ हजार पाँच सय रुपैयाँ, पदाधकारी पारिश्रमिक खर्चतर्फ छ लाख ७२ हजार, घाटगद्धी व्यवस्थापन खर्चतर्फ पाँच लाख ७८ हजार १७६ रुपैयाँ र अन्य खर्चतर्फ ५३ लाख तीन हजार पाँच सय रुपैयाँ विनियोजन गरेको छ ।
भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री कुसियतले सामुदायिक वनहरुको संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री कुसियतले सबैको लागि आवश्यक वनमा हुुने चोरी तस्करी र डढेलो नियन्त्रण गर्नु सबैको जिम्मेवारी भएको पनि बताए ।
सोही भेलाको अवसरमा भेलामा संविधान सभा सदस्य प्रेमबहादुर गिरी, प्रदेश सांसद् वृख प्रधान, नगर प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा आचार्य, डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नगर अध्यक्ष प्रेमसागर सापकोटा, नेपाली कांग्रेस नगर सभापति हेमराज खरेल, नगर सामुदायिक वन उपभोक्ता महासंघकी सचिव विनिता थापालगायतको आतिथ्यता रहेको थियो । समूहकी सचिव सरीता भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको भेलाको सञ्चालन उपाध्यक्ष नारायणप्रसाद पौड्यालले गरेका थिए ।