फिक्कल । इलामको सूर्योदय नगरपालिका-१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नै दाजुको कुटपिटबाट मृत्यु भएको छ ।

दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका हुन् । आइतबार मादक पदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुर बीच झगडा भएको थियो ।

दाजुले काठको पिराले हिर्काएपछि घाइते भएका हर्कबहादुरलाई गाउँमै सामान्य उपचार गरिएको थियो । त्यसपछि उनका छोराले घरमा लगेर सुताएका थिए । तर, बिहान उनी ओछयानमै मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए ।

सामान्य घाइते भएपछि सोमबार थप उपचारका लागि फिक्कल तर्फ ल्याउने तयारी गरी सुतेका उनले बिहान करिब ४ बजे खानेपानी मागेको परिवारले जनाएको छ । तर, परिवारका सदस्य कोही पनि नउठेपछि उनी फेरि सुतेको बताइएको छ । बिहान ६ बजेको समयमा उठाउन जाँदा ओच्छयानमा नै मृत फेला परेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रामबहादुर फरार छन् ।