बिर्तामोड । सरकारले विभिन्न कार्यक्रम गरेर भ्रमण वर्ष मनाइरहेका बेला झापाको एक विद्यालयले भने भ्रमण वर्षलाई प्रवद्र्धन गर्न सांस्कृतिक पोशाकको अवधारणा अघि सारेको छ ।
झापाको बुद्धशान्तिस्थित मुनामदन एकाडेमीले भ्रमण वर्षलाई स्वागत भन्दै आफ्ना विद्यार्थीहरुलाई परम्परागत र जातीय पोशाक लगाउन आह्वान गरेको छ ।
हरेक महिनाको अन्तिम मंगलबार कक्षा ५ देखि कक्षा १२ सम्मका विद्यार्थीले ऐच्छिक रुपमा आफ्ना जातीय पोशाक लगाउन मिल्ने विद्यालयका प्रिन्सिपल चेतन ढुङ्गेलले जानकारी दिए । एक हजारभन्दा माथि विद्यार्थी संख्या रहेको उक्त विद्यालयमा २० वटाभन्दा बढी जातजातिका विद्यार्थी अध्ययनरत छन् ।
भ्रमण वर्ष २०२० लाई भव्यताका साथ सफल बनाउन आफ्नो विद्यालयले बहुजाति, बहुभाषी, बहुसांस्कृतिक समाजमा आफ्नो संस्कार, भाषा, भेषभुषाको संरक्षण गर्न सकियोस् भन्दै यो कार्यक्रम सञ्चालन गरिएको प्रिन्सिपल ढुङ्गेलले बताए ।
यस्तो कार्यक्रम पूर्वान्चलमै पहिलो भएको उनको दाबी छ । बुद्धशान्तिको मात्रै नभएर झापामै अब्बल रहेको मुनामदन एकाडेमीले यसअघि पनि उत्कृष्ट कार्यक्रम गर्दै आएको बताइएको छ ।
विद्यार्थीहरुले जातीय पोशाक लगाउँदा आफ्नो संस्कृतिको संरक्षण हुनुका साथै अन्य जातिको भाषा, संस्कृति र पहिचानको विषयमा जानकारी लिन सहज हुने बताइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै नेपालको जातीय पहिचानको विषयमा जानकारी गराउने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको विद्यालयले जनाएको छ ।