भद्रपुर । झापा उद्योग वाणिज्य संघको कार्यसमिति विस्तार भएको छ ।
नवनिर्वाचित कार्यसमितिको मंगलबार सम्पन्न पहिलो बैठकले विशिष्ट सदस्यसहित केही सदस्य मनोनित गरेको छ भने सल्लाहकार समिति पनि गठन गरेको छ ।
संघका नवनिर्वाचित अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा सम्पन्न बैठकले युवा उद्योगी अजय साहेवालालाई विशिष्ट सदस्यमा मनोनित गरेको छ । सो पदलाई कार्यसमितिको तेस्रो वरियताको मान्यता दिइएको छ । साहेवाला २० पुस २० गते सम्पन्न संघको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए । उनी ६ मतको झिनो अन्तरले पनेरुसँग पराजित भएका थिए ।
संघको विधान अनुसार बैठकले कार्यसमितिमा अरु पाँचजना मनोनित गरेको छ । भूगोल, उद्योग र व्यवसायसमेतलाई समेटेर बैठकले सुमन मैनाली, गोपाल खनाल, माधव द्रिोही, बाबुराम पराजुली र भगान वस्नेतलाई सदस्यमा मनोनयन गरिएको नवनिर्वाचित महासचिव पंकजकुमार शर्माले जानकारी दिए ।
यसैगरी बैठकले चन्द्र कोइराला, सुरज साह कसेरा र अविनाश नाहाटालाई आमन्त्रित सदसय मनोनित गरेको छ भने नवनिर्वाचित महिला सदस्य शीला तामाङको अध्यक्षतामा महिला उद्यम समिति निर्माण गरेको छ । समितिको प्रथम उपाध्यक्षमा सीता ढकाल र सचिवमा कमला दुवाडी रहेका छन् । सो समितिले सदस्यहरु विस्तार गर्नेछ ।
बैठकले अग्रज उद्योगी–व्यवसायीहरु कालीचरण वस्नेत, इन्द्रकान्त झा, सुभाषरत्न शाक्य, महेश मित्तल, लक्ष्मण जमरकट्टेल र रमेश पराजुलीलाई सल्लाहकार समितिमा मनोनित गरेको छ भने आवश्यकता अनुसार सदस्यहरु थपघट गर्न सक्ने निर्णय गरिएको संघका अध्यक्ष पनेरुले जानकारी दिए ।
बैठकले उद्योगी–व्यवसायीको हित तथा उद्योग–व्यवसाय प्रवद्र्धनका लागि रचनात्मक क्रियाकलापलाई तीव्रता दिइने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विभिन्न कार्यक्रम गर्ने पनि निर्णय गरेको नवनिर्वाचित वाणिज्य उपाध्यक्ष सन्तोष धमलाले जानकारी दिए ।