झापा । अल्पसंख्यक जातिको सूचीमा रहेको दनुवार जातिका युवा मिलेर जातीय उत्थानसँगै संस्कार बचाउन लागिपरेका छन् ।
झापाको अर्जुनधारा नगरपालिकाको ४ नम्बर वडामा रहेको दनुवार जातिका युवाहरु संगठित भएका हुन् । उनीहरुले दनुवार जागरण उत्थान युवा मञ्च नामक संस्था दर्ता गरेर आफ्नो समुदायको वृत्ति विकासमा लाग्ने प्रण गरेका हुन् ।
दनुवार जातिको उत्थानसँगै जातीय पहिचान स्थापित गर्ने उद्देश्यले मञ्च गठन भएको बताइएको छ । मञ्चले बिहीबार पत्रकार सम्मेलन गर्दै भावी योजना सार्वजनिक गर्यो । मञ्चका अध्यक्ष दिपेन्द्र दनुवारका अनुसार दनुवार जातिको धर्म, भाषा, भेषभुषा, संस्कारको संरक्षण मञ्चले गर्नेछ ।
पहिलेका जमिन्दार भनेर चिनिने यस क्षेत्रका दनुवार समुदाय अहिले बनिबुतो गरेर जीविकोपार्जन गरिरहेका छन् । यसैमध्येका केही खेलकुद, शैक्षिक र श्रम क्षेत्रमा लागेका युवाको सहभागितामा मञ्च गठन गरिएको अध्यक्ष दनुवारले बताए ।
नौ सदस्यीय मञ्चको उपाध्यक्षमा विष्णुकुमारी दनुवार, सचिवमा उमेश दनुवार, सहसचिवमा अस्मिता दनुवार, कोषाध्यक्षमा सुनिता दनुवार र सदस्यहरुमा निकिता दनुवार, मनोज दनुवार, सुनिल दनुवार “ए” र सुनिल दनुवार “बी” रहेका छन् ।
मञ्चले नगरपालिकासँगै जिल्लामा रहेको दनुवार जातिको सूची तयार गर्ने, जातीय पहिचान दिने संग्रहालयसहित मौलिक शैलीको सभाहल निर्माण गर्ने, गहना र भेषभूषा खोजी गर्ने, मौलिक पर्व जितीयाको निरन्तरताको लागि अन्तरक्रिया गर्ने, आर्थिक जीवनस्तर उकास्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने भावी योजना अघि सारेको छ ।
कार्यक्रममा अर्जुनधारा–४ का वडा समिति सदस्य मोहनप्रसाद खतिवडा, नेपाल आदिवासी जनजाति महासंघ झापाका पूर्व सदस्य रविलाल दनुवार, अध्यक्ष दिपेन्द दनुवारलगायतले आफ्ना भनाइ राखेका थिए ।
मञ्चका सदस्य सुनिल दनुवार “बी”ले कार्यक्रमको औचित्यसहित स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव अस्मिता दनुवारले गरेकी थिइन् । हाल वडा नम्बर ४ मा दनुवार जातिको ८४ घरपरिवार रहेको छ ।