इलाम । पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको इलामको श्रीअन्तुमा धमाधम होटल बन्न थालेपछि होम-स्टे मासिने अवस्थामा पुगेका छन् ।

होमस्टेकै नामले परिचित श्रीअन्तुमा पछिल्लो समय बाह्य लगानीमा होटल निमार्ण हुन थालेपछि होम-स्टे विस्थापित हुने अवस्थामा पुगेको हो ।

इलामसँगै नेपालका अन्य जिल्ला, भारत र बगलादेश साथै तेस्रो मुलुकबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् ।

सूर्योदय र सूर्यास्त हेर्नका लागि श्रीअन्तु पुग्ने अधिकांश पर्यटक होम-स्टे बस्न चाहन्छन् तर अहिले श्रीअन्तुमा धमाधम होटल निमार्ण भइरहेका छन् ।

यहाँ निमार्ण भएका अधिकांश होटलले होम-स्टे नामाकरण गरे पनि होम-स्टेमा पाउने सेवा सूविधा भने छैन ।

स्थानीय कला, संस्कृति, भेषभुषा, खानपान झल्काउनुपर्ने होम-स्टेको अवधारणा हो तर श्रीअन्तुका होम-स्टे भने पक्की घरमा होटल र लज चलाएर होम-स्टे लेखेका छन् ।

होटल दर्ताको व्यवसायले होम-स्टेलाई असर गर्न थालेको होम-स्टे सञ्चालक बताउँछन् । श्रीअन्तुमा दैनिक पाँच सयदेखि एक हजारभन्दा बढी पर्यटक आउने गरेका छन् ।