खुदुनाबारी । प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले साधुटारको धार्मिकस्थलका लागि सहयोग गर्ने बताएका छन् ।
उनले आर्थिक, भौतिक तथा नैतिक जस्तोसुकै सहयोग गर्न पनि पछि नपर्ने बताएका हुन् । झापा अर्जुनधारा–१ स्थित साधुटारमा शुक्रबार आयोजित दाताहरुको एक करोडभन्दा बढीको लागतमा निर्माण स्वाध्यशाला भवन उद्घाटन तथा ५ जना सामाजिक व्यक्तित्वलाई सम्मानपछि सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
मन्त्री कार्कीले २/४ अर्ब रकम राज्यबाट र स्थानीय सरकार तथा प्रदेश सरकारको बजेटबाट यो धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि केही छुट्याउन पहल गर्ने आश्वासन दिएका छन् । कार्यक्रममा मन्त्री कार्कीलाई शंकराचार्य पीठ वेदवेदाङ संस्कृत पाठशालाले मायाको चिनो वेद पुस्तक प्रदान गरेको थियो ।
पाठशालाका अध्यक्ष केदारनाथ खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ४४औ बार्षिक अनुष्ठान आयोजक समितिका संयोजक लक्ष्मीप्रसाद खतिवडाले गरेका थिए ।
कार्यक्रममा अर्जुनधारा वडा नं. १० अध्यक्ष वलदेवसिंह गोम्देन, उधोगी तथा व्यवसायीहरु कुमारमणि पोखरेल, रोशन प्रसाई, शिवकुमार अग्रवाल र आदित्यमान पराजुलीलाई पाठशालालाई सहयोग गरेको भन्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्वका तर्फबाट गोम्देन, नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक गोपीकृष्ण खतिवडालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको समेत उपस्थिति थियो । कार्यक्रमको सञ्चालन पुराण आयोजक समितिका सचिव हरि नेपालले गरेका थिए ।