निरञ्जन राजवंशी,
१३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत फूटबलको फाइनलमा अभिषेक रिजालको गोलबाट नेपालले भूटान विरुद्ध अग्रता लियो । उनको हौसला बढाउन ४७ वर्षीय भीम रिजाल पनि रङ्गशालामा उपस्थित थिए ।

अभिषेकको गलामा स्वर्ण पदक झुण्डिंदा भीमको सपना पूरा भएको थियो । उनी भन्छन्, “मैले गर्न नसकेको सपना छोराले पूरा गर्दैछ ।”

भीम पहिले क्योकुशिन कराते खेलाडी थिए । त्यसको मिल्दोजुल्दो विधा सिन्जिनकाई हुँदै वादोरियो करातेमा पुगे । तर, खेलाडीको रुपमा सफलता पाउन सकेनन् । पछि वादोरियो कराते संघको वरिष्ठ उपाध्यक्षसम्म भए ।

खेलाडीको रुपमा आफू सफल हुन नसकेको उकुसमुकुस थियो । अहिले त्यो सपना छोरो अभिषेकले पूरा गरिरहेको ठान्छन् । त्यसका लागि पनि लामै संघर्ष गर्नु परेको छ।

नेपाली खेलकुदका कतिपय हस्तीले छोराछोरीलाई पनि यही क्षेत्रमा सफल बनाउन भरपुर प्रयास गरेका छन्, तर सकेका छैनन् । सफल भएका उदाहरण कमै मात्र छन् ।

अखिल नेपाल फूटबल संघका तत्कालीन अध्यक्ष तथा पूर्व कप्तान गणेश थापाले छोरा अभिषेक थापालाई ए डिभिजनसम्म पुर्‍याए । पूर्व महासचिव धीरेन्द्र प्रधानका छोरा सदिश अहिले राष्ट्रिय बास्केटबल टोलीका कप्तान छन् । भीमले पनि छोरा अभिषेकलाई नेपाली फूटबलको उदाउँदो स्टार बनाइसकेका छन् ।

पुर्ख्यौली घर नुवाकोट बट्टारका भीम परिवार सहित काठमाडौं नयाँबजारमा बस्छन् । मार्शल आर्टस् खेल्दा उनको सामीप्यता भने मनाङ मर्स्याङ्दी क्लबसँग भयो । तत्कालीन अध्यक्ष टासी घलेले उनलाई जिल्लामा हुने केही प्रतियोगितामा व्यवस्थापकको जिम्मेवारी दिए । त्यसपछि विगत एक दशकमा उनी कुनै न कुनै रुपमा मनाङसँग आवद्ध छन् ।

मनाङको प्रशिक्षण सानो गौचरण मैदानमा हुन्थ्यो । भीम आफू त्यहाँ जाँदा हरेक दिन छोरा अभिषेकलाई पनि लैजान्थे । बिहान ६ बजे छोरासँग मैदानमा पुगेर ९ बजेसम्म प्रशिक्षण गराउने अनि त्यहाँबाट स्कूल पुर्‍याउने उनको तालिका नै बन्यो ।

उनी सम्झिन्छन्, “छोरालाई पनि फूटबल खेल्ने रहर, उसले कहिल्यै अल्छी गरेन । मैले तालिका टुटाउन पनि दिइनँ । उसले राम्रो गर्दै गयो ।”

पछिल्लो समय अधिकांश फूटबल ‘स्टार’ एन्फा एकेडेमीबाट उत्पादन भएका छन् । नौ वर्षअगाडि अभिषेकले पनि एकेडेमीका लागि प्रयास गरे तर, छनोट भएनन् । भीम भन्छन्, “उमेर थियो, समय थियो । उसले झन् मिहिनेत गर्‍यो र अर्को वर्ष एन्फा एकेडेमीमा पर्न सफल भयो नै ।”

एन्फा एकेडेमीमा प्रवेश पाएपछि अभिषेकको फूटबल जीवनले नयाँ दिशा पायो । उनी यू–१६, यू–१९, यू–२३ हुँदै राष्ट्रिय टोलीमा पुगे । उनी राइट विङ्सबाट खेल्छन् । राष्ट्रिय टोलीका नयाँ प्रशिक्षक योहान कालिनले उनलाई चाइनिज ताइपेईसँगको मैत्रीपूर्ण खेलमा डेब्यु गराएका थिए । उनले डेब्यु खेलमा नै गोल गरेपछि राष्ट्रिय टोलीका नियमित सदस्य भएका छन् ।

नेपालले हालै खेलेको विश्वकप छनोटका खेलहरू कुवेत, चाइनिज ताइपेई र अष्ट्रेलियासँग अभिषेकले प्रभावशाली खेल देखाए । १३औं सागले त उनलाई चर्चित नै बनायो । नेपालका अधिकांश चर्चित स्ट्राइकरले ९, १० या ११ नम्बरको जर्सी लगाउँछन् । तर, अभिषेककै कारण ७ नम्बर जर्सीमा दर्शकहरुको आँखा पर्न थालेको छ । उनले ‘नेपालका रोनाल्डो’ उपनाम पाउन थालेका छन् ।

अभिषेक आफ्नो खेल जीवनको सफलताको श्रेय बाबुलाई दिन चाहन्छन् । उनी भन्छन्, “बुवाले गर्दा नै म यहाँ पुगेको हुँ । उहाँ कहिलेकाहीं रिसाउनुहुन्छ । तर, मलाई थाहा छ त्यो मेरो लागि हो । त्यसले मलाई सदैव राम्रो गर्न मद्दत गर्छ ।”

अभिषेकको प्रतिभा बुझेको नेपाल पुलिस क्लबले उनलाई एकेडेमीबाट सीधै क्लबमा लियो । अभिषेकले जीवनको पहिलो कमाइ बुवालाई ल्याएर दिए, गुरुदक्षिणा जस्तै ।

नेपाल पुलिस क्लबबाट उनले दुई वर्ष खेले । गत वर्ष एएफसी प्रेसिडेन्ट्स कपका लागि ‘लोन’ मा मनाङ मर्स्याङ्दी क्लब गए । अहिले उनी मच्छिन्द्र क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेलिरहेका छन् ।

भीम छोराको प्रगतिलाई उसको करिअरको शुरुआत मान्छन् । २० वर्षीय अभिषेक अहिले उच्च फर्ममा छन् । छोराले राष्ट्रिय टीमका लागि अझ धेरै गर्न बाँकी भएको उनी बताउँछन् । हिमाल खबरबाट