खुदुनाबारी । अर्जुनधारा नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दिव्य कट्टेलले वन समूहबीच भएको असमझदारीको अन्त्य गर्दै एकजुट हुनुको विकल्प नरहेको बताएका छन् ।
‘हरियाली बनाऔं जीवन स्वस्थ्य राखौं’ आह्वानसँगै महासंघले अर्जुनधारा-१ स्थित हलुवागढ-कालिखोला सिमसार क्षेत्रमा शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष कट्टेलले महासंघ र समूहले खेल्नुपर्ने भूमिकासँगै समूहले उपभोक्तालाई प्रदान गरिने सेवासुविधाका विषयमा स्पष्ट पार्न पनि कार्यक्रम आवश्यक रहेको बताए ।
सामुदायिक वनमा आइपर्ने ससाना समस्या निराकरण गर्नमात्र नभइ सामुहिक बाधा अड्चन फुकाउन पनि समूह मिल्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । हरेक समस्या सामाधानमा नगर महासंघ लागिपर्ने उनले प्रतिवद्धता पनि जनाए ।

नगर महासंघका सदस्य रुपनारायण समालको अध्यक्षता र महासंघकी केन्द्रीय सदस्य संगीता थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अन्तर समूहगत हाजिरी जवाफ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो ।
प्रतियोगितामा दहीझोडा सामुदायिक वन उपभोक्ता समूह प्रथम, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह दोस्रो र शान्ति सामुदायिक वन उपभोक्ता समूह तेस्रो भएको छ । हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले गरेका थिए ।
हलुवागढ सामुदायिक वन उपभोक्ता समूहकी सचिव तारादेवी आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर महासंघकी सचिव विनिता थापाले गरेकी थिइन् । हाल नगर महासंघअन्तर्गत हचुमासा, हलुवागढ शान्ति, जुकेखाड, दहीझोडा र नमूना सामुदायिक वन उपभोक्ता समूह रहेका छन् ।