भद्रपुर । झापामा शनिबारदेखि स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रम शुरु भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको अगुवाइमा झापाको पहिलो नगरपालिका भद्रपुर नगरपालिकाबाट जिल्लामा कार्यक्रम शुभारम्भ गरिएको हो ।
भद्रपुरको गुरुकूल वेद विद्याश्रममा आयोजित एक समारोहका बीच प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रमको उद्घाटन गर्नुभयो ।
मानिसको खानपान, आहार विहार, सरसफाइलगायतका महत्वपूर्ण विषयमा जनचेतना जगाउने, आयुवेर्दिक औषधोपचारको प्रवद्र्धन गर्ने, सूर्तीजन्य तथा मदिराजन्य पदार्थको उपभोगलाई निरुत्साहित गर्नेलगायतका क्रियाकलाप सञ्चालन गर्ने र मानिसको अस्वस्थ जीवनशैलीमा परिवर्तन ल्याई मानसिक एवम् शारीरिक रुपमा स्वस्थ र सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यले सामाजिक विकास मन्त्रालयले यो अभियान सञ्चालन गरेको मन्त्री घिमिरेले जानकारी दिनु भएको छ ।
भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित समारोहमा स्वस्थ जीवन प्रवद्र्धनसम्बन्धी डा. सुरज विशाल र डा. विनोद घिमिरेले प्रस्तुति दिएका थिए भने हरेकृष्ण भट्टराईले तनाव व्यवस्थापनबाट उच्च रक्तचाप, दम एवम् मधुमेहजस्ता नसर्ने रोगको रोकथामका उपाय बारे जानकारी गराएका थिए ।
सो अवसरमा मन्त्री घिमिरेले सार्वजनिक स्थलहरुको सय मिटर वरपर सूर्ती तथा मदिराजन्य पदार्थको बिक्री–वितरण र सेवन गर्न नपाइने कुरा कानूनमै उल्लेख भएकोले यदि त्यस्तो गरेको पाइएमा दण्ड-सजायको व्यवस्थासमेत रहेकाले कानून परिपालना गराउन नगरप्रमुख एवमु निकाय-संस्थाका प्रमुखहरुलाई निर्देशनसमेत दिनुभयो ।
त्यस अवसरमा ब्लड प्रेसर, सुगर जाँचका लागि स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । तथ्यांकअनुसार नेपालको २४.५ प्रतिशत जनसंख्यामा उच्च रक्तचाप, ११ प्रतिशत जनसंख्यामा दम तथा ८ प्रतिशत जनसंख्यामा मधुमेहको समस्या रहेको छ ।