शनिश्चरे । झापाको अर्जुनधारा–८ मा रहेको प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाले सम्मान तथा पुरस्कार वितरण गर्दै आफ्नो १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

संस्था सञ्चालक समितिकी अध्यक्ष निर्मला पौड्यालको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा दातालाई सम्मान तथा अपाङ्गता भएका सदस्यलाई आर्थिक सहयोग गरेको हो ।

कार्यक्रममा संस्थाद्वारा स्थापित अपाङ्गता संरक्षण कोषबाट संस्थामा आवद्ध पाँच जना अपाङ्गता भएका शेयर सदस्यलाई जनही नगद दुई हजारसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा कृष्णबहादुर प्रसाईं, जमुना राजवंशी, ठाकुरसिंह गुरुङ, दिलबहादुर विक र मीना श्रेष्ठ रहेका छन् ।

त्यसैगरी कोषका दाता एवम् संस्थापक अध्यक्ष दिपेन्द्र काफ्लेलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । संस्थाका उपाध्यक्ष डिल्ली घोर्साईंले स्वागत गर्दै आफ्नो क्षमताले भ्याएसम्म श्रम गर्नुपर्नेमा जोड दिए ।

वार्षिकोत्सवको सन्दर्भमा शेयर सदस्यहरुलाई सहकारी शिक्षाबारे जानकारी दिने उद्देश्यले एक दिवसीय सहकारी शिक्षा तालिम पनि सञ्चालन गरिएको थियो । सहकारी संघ झापाका सचिव ढकालले सहजीकरण गरेको तालिममा ३५ जनाको सहभागिता रहेको संघकी व्यवस्थापक तुलसा कुँवरले जानकारी दिइन् ।

कार्यक्रममा अर्जुनधारा नगरसभा सदस्य सुशिला सुवेदीले संस्थाले स्थापना गरेको कोषका लागि १० हजार सहयोग उपलब्ध गराउने घोषणा गरेकी छन् ।

तालिमका सहभागी ठाकुरसिंह गुरुङले अनुभव बारे जानकारी गराएको कार्यक्रममा संस्थाका सल्लाहकार पदमबहादुर मगर, सम्मानित व्यक्तित्व काफ्ले, दाता युवराज प्रसाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन व्यवस्थापक कुँवरले गरेकी थिइन् ।