बिर्तामोड । सेन्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकका लागि सेन्चुरी सेभिङ प्लस खाताको योजना ल्याएको छ ।

बैंक स्थापना भएको ९औँ वार्षिकोत्सवको अवसर पारेर ल्याएको सेभिङ प्लस खाता खोलेको खण्डमा विभिन्न रोगसँग दुर्घटना र दीर्घकालिन अशक्तताका लागि बिमाको योजना अघि सारेको छ ।

न्यूनतम बचत ५० हजार रहने यस खाता खोलेवापत सेवाग्राहीका लागि ६ दशमलव ५ प्रतिशत ब्याजदर, डिजिटल बैंकिङ, निशूल्क लकर, नेपालका अन्य कुनै बैंकको एटिएम प्रयोग गर्दा अतिरिक्त शूल्क नलाग्ने, कर्जा सुविधामा विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले सोमबार बिर्तामोडमा समुदायसँग सहकार्यसम्बन्धी अन्तरक्रिया गर्दै नयाँ योजनाबारे जानकारी गराएको हो । बैंकका एसएमइ बैंकिङ मेनेजर राजेन्द्रप्रसाद तिम्सिनाका अनुुसार यस योजनाअन्तर्गत विभिन्न १८ वटा जटिल रोगको बिमा गरिनेछ । बिमा अाइएमइ जनरल इन्स्याेरेन्ससँगकाे सहकार्यमा हुनेछ ।

बचत गर्ने बानीको विकास गर्न, संकलित निक्षेपलाई उच्चतम् प्रतिफल दिन, निःशूल्क बिमाको व्यवस्था गराउनु बैंकको उद्देश्य रहेको उनले बताए ।

बिर्तामोड शाखाका प्रबन्धक गणेशबहादुर बरालले सञ्चालन गरेको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले ऋण लिन आउने सेवाग्राहीलाई झञ्झटिलो प्रक्रियामा बैंकहरुले नअल्झाउन सुझाव दिए ।

प्रत्येक बैंकले आफ्नो कार्यालय वरपर सीसी क्यामेरा जडान गरेर सेवाग्राहीलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिएका उनले बैंकले समुदायसँग पनि साझेदारी कार्यक्रम ल्याउन आग्रह गरे ।

कार्यक्रममा बिर्तामोडका व्यवसायी मीनप्रकाश मैनाली, बिर्तामोड ४ का सदस्य राहुल शर्मालगायतले आफ्ना भनाइ राखेका थिए ।

बैंकले बाल बचत, पे रोल, ज्येष्ठ नागरिक, किसान बचत, सी ५, सरल बचत र सामाजिक सुरक्षा भत्ता खाता यसअघि नै सञ्चालनमा ल्याइसकेको छ ।