अर्जुनधारा । चन्द्रगढी भेट्रान्स एफसीमाथि गाेल वर्षा गर्दै आयोजक टिम यहाँ जारी प्रथम सालबारी–मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजकले चन्द्रगढीलाई ७-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । आयोजकका लागि खेम पोखरेलले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिकसहित चार गोल गरे । उनले खेलको २७औँ, २८औँ, ३८औँ र ४७औँ मिनेटमा गोल गरेका थिए । यस्तै, प्रविन राईले नवौँ, अंकुर खड्गीले २३औँ तथा विनोद बान्तवाले ५६औँ मिनेटमा गोल थपे ।
चन्द्रगढीका गजेन्द्र राईले खेलको अतिरिक्त समयमा सान्त्वना गोल फर्काए । खेलभर आयोजक टोलीले चन्द्रगढीमाथि दबाब कायम राखेको थियो । राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य प्रवेश कटवाल, स्टार खेलाडी अंकुर खड्गी र खेम पोखरेलसहित मैदानमा उत्रिएको आयोजक टोलीविरुद्ध चन्द्रगढीले प्रभावकारी आक्रमण बनाउन सकेन ।
चार गोल गरेका आयोजक टोलीका खेम पोखरेल प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उनलाई अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनलगायतले पुरस्का प्रदान गरे ।
प्रतियोगिताअन्तर्गत सोमबार हुने तेस्रो खेलमा बौद्ध भेट्रान्स फुटबल क्लब पाँचथर र चारपाने युनाइटेड भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका संयोजक नन्दलाल खतिवडाले जानकारी दिए ।
असोज २५ गते हुने प्रतियोगिताको विजेताले नगद ५१ हजार र ट्रफी पाउँदा उपविजेताले नगद ३१ हजार पाउने छ । अन्य विधागत विजेता खेलाडीले ५-५ हजार पाउँदा सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सयसहित ट्रफी पाउने छ ।
यसअघि भएको मैत्रीपूर्ण खेलमा शनिश्चरे एफसीले जिल्ला प्रहरी कार्यालय झापाको टोलीलाई ३-१ गोलअन्तरले पराजित गरेको थियो ।