अर्जुनधारा । अर्जुनधारा क्षेत्रका नदी तथा खोला ठेक्का लगाउने पटक–पटकको प्रयास असफल भएपछि नगरपालिकालेa राजस्व गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ ।
तीनपटक बोलपत्र आह्वान गर्दा पनि कुनै टेण्डर नपरेपछि नगरको आन्तरिक आम्दानी पनि गुम्ने निश्चित प्रायः भएको छ ।
लगातार तीन पटकसम्म बोलपत्र आह्वान गर्दा पनि खोला ठेक्का नलागेको प्रमुख प्रशासकीय अधिकृत पङ्कज भूर्तेलले बताए । तीन पटकसम्म पनि ठेक्का खोल्दा पनि कुनै फर्म वा निर्माण कम्पनीले बोलपत्र दर्ता नगरे सार्वजनिक डाक बढाबढमार्फत ठेक्का दिनुपर्ने नियम छ ।
तर, शनिबारका लागि तोकिएको डाक बढाबढमा पनि कुनै निर्माण कम्पनी सहभागी नभएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए ।
‘नदीजन्य सामग्री उत्खनन गर्ने समयसीमा सकिनलाग्दा पनि ठेक्का नलागेपछि करोडौंको राजस्व गुम्ने स्थिति आएको छ’, प्रमुख रानाले भने । नियमअनुसार जेठ मसान्तदेखि नदीजन्य सामग्री उत्खनन कार्य रोकिने गरेको छ । झण्डै साढे तीन महिना मात्रै बाँकी रहेको अवस्थामा खोला ठेक्का लाग्ने सम्भावना कम भएको छ ।
नदीजन्य सामग्रीको उत्खनन तथा ओसारपसारका लागि ठेक्का नलागे पनि नम्बरी जग्गाको नाममा उत्खनन र ओसारपसार भने रोकिएको छैन ।
यद्यपि, खोलाबाट अवैधरुपमा नदीजन्य पदार्थ सङ्कलन भइरहेका विषयमा नगरपालिका पनि बेखबर छैन । गतवर्ष नदीजन्य सामग्रीको ठेक्का एसयुएस कन्स्ट्रक्सनले लिएको थियो ।
कन्स्ट्रक्सनले टाङटिङ, नेते र गोयाङ नदीमा सामग्री उत्खनन गरे पनि बिरिङ नदीमा स्थानीयले अवरोध गरेका थिए । स्थानीयले सम्झौता बमोजिम उत्खनन् गर्न रोक लगाएपछि ठेकेदार संस्था ठेक्का रकम फिर्ताको माग गर्दै अदालत गएको छ ।
अदालतको आदेश भने अझै आइसकेको छैन । स्थानीयले उत्खनन अवरोध गर्ने भएका कारण ठेकेदार संस्था ठेक्का लिन तयार नभएका हुन् । समय गुज्रिन लागेकाले आन्तरिक आम्दानीको बलियो स्रोत उपयोग गर्ने बारेमा अन्योल उत्पन्न भएको अधिकृत भुर्तेलले बताए ।