सन्तोष शर्मा,
झापा । झापा बिर्तामोड–१० की ४६ वर्षीया दिलु राईले नेपाली हाते कागज बनाउन थालेको तीन दशक बितेको छ । उनले १६ वर्षको उमेरबाटै हाते कागज बनाउन थालेकी हुन् ।
दिलुसँगै उनका श्रीमान् ४६ वर्षीय कुमार राई पनि कागज बनाउन सिपालु छन् । पाँचथरमा हाते कागज बनाएर जीवन धान्दै आएको राई परिवार चार वर्षअघि मात्र झापा झरेको हो । बसाइँसराइँसँगै उनीहरुले बिर्तामोड–९ स्थित गरामनीमा घर–जग्गा भाडामा लिएर हाते कागज उत्पादन गदैर् आएका थिए ।
कामप्रतिको लगनशीलता र परिश्रमले अहिले राई परिवार सोही पेशाबाट घर जग्गा जोड्न सफल भएको छ । बिर्तामोड–१० मा तीन कठ्ठा जग्गा खरीद गरेर घर निर्माण गर्नुका साथै कागज उत्पादनका लागि आवश्यक भौतिक संरचना निर्माण गरिएको छ । सबै खर्च कटाएर मासिक ३० हजार रुपैयाँ आम्दानी हुने गरेको राई दम्पत्ति बताउँछन् ।
करिब ३० लाखको लागतमा ‘कुमानोइल नेपाली हाते कागज उद्योग’ स्थापना गरेका राई दम्पत्ति २० जनालाई रोजगारी दिन सफल भएका छन् । पाँच छोराछोरीसहित सात जनाको परिवार पनि सोही उद्योगको आम्दानीले चलेको छ । ‘छोराछोरी पढाउनेदेखि घरायसी खर्च यसैबाट चलेको छ’, दिलु भन्छिन्, ‘मासिक केही बचत समेत हुने गरेको छ ।’
उद्योगबाट मासिक २५ हजार थान नेपाली हाते कागज उत्पादन हुने गरेको छ । उत्पादित कागजको बजार अभाव छैन । ‘उद्योगबाटै व्यापारीले कागज किनेर लान्छन्’, महिला उद्यमी दिलु भन्छिन्, ‘अडर अनुसार पनि काजग तयार गरेर दिने गरेका छौँ ।’
कागज उत्पादनका लागि आवश्यक लोक्ता पाँचथरबाट आयात हुने गरेको छ भने त्यसमा प्रयोग हुने ‘केमिकल’ विराटनगरबाट ल्याउने गरिएको छ । वर्षा र घाम लाग्दा भने कागज बनाउन समस्या हुने उनीहरुको भनाइ छ ।
झापामा पछिल्लो पाँच वर्षको अवधिमा हाते कागज उद्योगको संख्या बढ्दै गएको छ । २०७१ सालअघि १२ वटाको संख्यामा रहेको हाते कागज उद्योग आर्थिक वर्ष २०७६÷०७७ को माघसम्ममा ३१ वटा पुगेको घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका तथ्यांक सहायक अश्विनीकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार आव ०७३/७४ मा २ वटा, आव ०७४/७५ मा २ वटा, आव ०७५/७६ मा १० वटा र आव ०७६/७७ को माघसम्ममा ५ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
झापामा पहाडबाट कच्चा पदार्थ ढुवानी गर्न सहज हुने र घाम राम्रो लाग्ने भएकाले यहाँ हाते कागज उद्योग खुल्ने क्रम बढेको हो । ‘पहाड भन्दा झापामा घाम राम्रो लाग्छ, सुकाउन सजिलो हुन्छ’, तथ्यांक सहायक भट्टराईले भने, ‘जसका कारण कागज पनि गुणस्तरीय हुन्छ ।’ मूल्य पनि राम्रो पाइने भएकाले झापामा कागज उद्योगको संख्या बढ्दै गएको हो ।
झापाका सबै हाते कागज उद्योग जापानी प्रविधिमा गइसकेका छन् । परम्परागत शैली भन्दा जापानी प्रविधिमा उत्पादन गरिएको कागज गुणस्तरीय हुने भएपछि यहाँका उद्योग जापानी प्रविधिमा गएका हुन् ।
जापानी प्रविधिमा उत्पादन गरिएको काजग चिल्लो र प्रिन्टरमा प्रयोग गर्न सहज हुन्छ । यस्ता कागजको दाम पनि राम्रो पाइने उद्योगी बताउँछन् ।
झापामा उत्पादन भएका कागज स्थानीय बजारसँगै जापान, अमेरिका लगायतका युरोपिन देशहरुमा निर्यात हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । नेपाली कागज सरकारी कामकाज र दस्तावेज, चिनाटिपन बनाउन धेरै प्रयोग हुन्छ । झापा अनलाइनबाट