झापा । नगरपालिकाको स्वामित्वमा रहेका भवनहरुबाट कार्यालयले संकलन गर्दै आएको बहाल कर अर्जुनधारा नगरपालिकाले लकडाउन अवधिभर नलिने निर्णय गरेको छ ।

नगरपालिकाको आइतबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको नगरपालिकाका मेयर हरिकुमार रानाले जानकारी दिए । उनका अनुसार झापाको पुरानो बजार मानिने शनिश्चरे बजारमा नगरको स्वामित्वमा रहेका भवनबाट बहाल कर नलिने निर्णय भएको हो ।

नगरको राजश्व शाखाका अनुसार नगरपालिकाले शनिश्चरे बजारमा निर्माण गरेको नयाँ भवनमा २८ वटा सटर भाडामा लगाइएको छ । त्यस्तै, सामुदायिक भवनमा अन्य १२ वटा सटर भाडामा दिइएको छ ।

दुवै भवनमा रहेका सटरको मासिक २ हजारदेखि ६ हजार ५ सयसम्म बहाल कर संकलन गरिँदै आएको राजश्व शाखा प्रमुख डेनजनी आचार्यले बताए । उनका अनुसार नगरपालिकाले यी भवनहरुबाट मासिक करिब एक लाख ७० हजार राजश्व संकलन गर्दै आएको छ ।

कोरोना भाइरसबाट बच्न र नियन्त्रणमा लिनका लागि सरकारले चैत ११ गतेदेखि मुलुकभर लकडाउन घोषणा गरेको मितिदेखि नै नगरपालिकाले अन्त्य नभएसम्म बहाल कर नलिने निर्णय गरेको मेयर रानाले बताए ।

सोही बैठकले नगरमा रहेका घर, कोठा बहाल लगाएका निजी घरधनीहरुलाई बहाल कर छुट गर्न अनुरोध गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा २ करोड ५० लाख ८७ हजार राजश्व संकलन गरेको राजश्व शाखा प्रमुख आचार्यले बताए ।