काँकरभिट्टा, पुस ६ । सरकारले दुईहजार, पाँच सय र दुई सय दरका भारतीय नोटको चलनचल्तीमा प्रतिबन्ध लगाएसँगै त्यसको असर झापाका बजारमा समेत देखिन थालेको छ । केही दिन अघिबाट त्यस्ता नोटमा प्रतिबन्ध लगाएपछि झापाका सिमावर्ती बजारहरुमा समेत त्यसको असर देखापर्न थालेको हो ।

झापाको काँकरभिट्टा, भद्रपुर र झापा बजार लगायतका सिमावर्ती बजारमा ठूला दरका भारतीय नोटको अभाव हुँदा कारोबारमा असर परेको छ । सय रुपैयाँ भन्दा माथिका भारतीय नोटको चलनचल्तिमा सरकारी प्रतिबन्धका कारण राजस्व असुलिमा प्रत्यक्ष असर नपुगेपनि कारोबारमा भने असर देखिएको छ । प्रतिबन्धका कारण काँकडभिट्टा नाका भएर नेपाल प्रवेश गर्ने भारतीय लगायत देशका पर्यटकहरु नोट नसाटिएका कारण समस्या पर्ने गरेको मेची भन्सार कार्यालयका कर्मचारी राम अधिकारीले बताए ।

त्यस्तै, नोटको चलनचल्तिमाथिको प्रतिबन्धका कारण काँकडभिट्टा र भद्रपुरका सटही काउण्टरहरुले समेत माग अनुसार नोट साट्न नसकेको जनाएका छन् । ठुला भारतीय नोट चल्न छाडेपछी सिमापारि किनमेल र स्वास्थ्योपचारमा भारत जाने सर्वसाधारणलाई समस्या परेको छ । भारतमा नेपाली नोटको कारोबार नहुने र नेपालका बैङ्कले समेत २ हजार भारतिय रुपयाँ सम्म मात्र उपलब्ध गराउने भएकाले आफूहरु मर्कामा परेको सर्वसाधरण बताउँछन् ।

व्यापारी तथा व्यवसायीका अनुसार एक सय र सो भन्दा साना नोटको भरमा मात्रै सिमावर्ती बजारको कारोबार धान्न सकिदैन । विगतमा समेत सरकारले भारतिय ५ सय र एक हजार दरको नोटको चलनचल्तिमा रोक लगाए पनि गैह्रकानुनी रुपमा नोटको सटही गर्ने कारोबारीहरुले त्यसको राम्रो फाइदा लिने गरेका थिए ।

तसर्थ नोटमाथि प्रतिबन्ध गरिएको मौका छोपी गैह्रकानुनी रुपमा भारतिय नोटको कारोबार गरी लाभ उठाउने कारोबारीलाई समेत निरुत्साहित गर्न नसकिए अझ महंगोमा भारतिय नोट खरिद गर्नुपर्ने बाध्यता भने कायमै रहनेछ ।