लारुम्बा । इलामको माङसेबुङमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ को प्रथम ऐतिहासिक भेलाले प्रदेश इन्चार्ज दिपीन राईलाई प्रादेशिक तदर्थ समितिको अध्यक्षमा चयन गरेको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित रेडियो माङसेबुङको सभाहलमा भएको भेलाले इन्चार्ज राईको अध्यक्षतामा १५ सदस्यीय प्रादेशिक तदर्थ समिति गठन गरिएको हो ।

फोनिजको कार्यविधि–२०७५ बमोजिम प्रदेश इन्चार्जको अध्यक्षतामा प्रादेशिक तदर्थ समिति गठन भएको हो । कार्यविधि अनुसार जिल्ला शाखाका अध्यक्ष समितिको सदस्य रहने प्रावधान रहेको छ ।

गठित समितिको सदस्यहरुमा राम योङहाङ (इलाम), विशाल नेम्वाङ (झापा), गणेश साम्पाङ (पाँचथर), दिनेश लिङ्खिम (ताप्लेजुङ), दिनेश सुब्बा (मोरङ), धिरेन्द्र चौधरी (सुनसरी), सन्तबीर लामा (धनकुटा), टिआर सेनेहाङ (तेह्रथुम), राजन राई (भोजपुर), शुभराज राई (उदयपुर), कुम्भराज राई (ओखलढुङ्ग), नवीन गुरुङ (संखुवासभा) लगायत रहेका छन् ।

भेलाको उद्घाटनसत्रमा जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्था, स्थानीय बुद्धिजीविहरुबीच फोनिज र समावेशी मिडिया विषयक अन्तरक्रिया समेत गरिएको थियो ।

अन्तरक्रियामा फोनिज स्थापनाको उद्देश्य, यसको पृष्ठभूमि, फोनिजबाट सञ्चालित हुँदै आएका गतिविधि, फोनिज र स्थानीय सरकारबीचको सम्बन्ध लगायतका विषयमा संघीय समिति सदस्य कमन देवानले जानकारी दिएका थिए ।

प्रदेश इन्चार्ज दिपीन राईको अध्यक्षता तथा संघीय समिति सचिव कमन देवानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा माङसेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा, माङसेबुङ ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राई, संघीय समाजवादी फोरम माङसेबुङ गाउँपालिका संयोजक किसान खजुम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका अध्यक्ष साम्जिरी शेर्मा, प्रस्तावित आत्मानन्द सेइङ बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर लिङदेन, सहायक प्रमुख आङबुहाङ अबोध अविरल चुरे संरक्षण अनुसन्धान केन्द्र माङसेबुङका अध्यक्ष नन्दकुमार नेम्वाङलगायतले मन्तव्य राखेका थिए ।

सोही अवसरमा प्रादेशिक भेलालाई सम्पन्न गराउँन सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।सम्मानित हुनेहरुम माङसेबुङ गाउँपालिका, माङसेबुङ वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राई, रेडियो माङसेबुङ, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो माङसेबुङ, फोनिज इलाम जिल्ला शाखा र स्थानीय युवा बुद्धिजीवि आङबुहाङ अवोध अविरल रहेका छन् ।

उनीहरुलाई फोनिज संघीय कार्यसमिति सचिव कमन देवान र प्रदेश नम्बर १ का इन्चार्ज दिपीन राईले संयुक्तरुपमा सम्मानपत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा भेलालाई सम्पन्न गर्न विभिन्न जिल्लाबाट माङसेबुङ पुगेका आदिवासी पत्रकारहरुलाई स्थानीय सञ्चारगृह रेडियो माङसेबुङले स्वागत गरेको थियो ।

आगन्तुक पत्रकारहरुलाई खदा र फूलमालासहित महागुरु फाल्गुनन्दको व्याच लगाएर स्वागत, सम्मान गरिएको रेडियोका सुमन लाओतीले जानकारी दिए ।

उद्घाटन सभापछि प्रदेश नम्बर १ मा फोनिजलाई कसरी दरबिलो बनाएर अगाडि लैजाने भन्ने विषयमा व्यापक छलफल भएको थियो ।
छलफलमा सुनसरी जिल्ला अध्यक्ष धिरेन्द्र चौधरी, झापा जिल्ला अध्यक्ष विशाल नेम्वाङ, धनकुटा जिल्ला अध्यक्ष सन्तबीर लामा, ताप्लेजुङ जिल्ला अध्यक्ष दिनेश लिङ्खिम लगायतले सुझाव पेश गरेका थिए भने संघीय सदस्य चन्द्र पन्धाक, विजयबोध लाओती लगायतले आ–आफ्नो राय पेश गरेका थिए ।

राति अबेरसम्म चलेको बन्दसत्रपछि बिहान १८ गते माङ्सेबुङ घोषणापत्र जारी गर्दै भेला सम्पन्न भएको थियो । घोषणापत्रमा श्रमजीवि पत्रकार ऐन कार्यान्वय गर्न, समावेशी विज्ञापन नीति लागू गर्न र माङसेबुङ धार्मिक पर्यटकीय क्षेत्रलाई प्रचार गर्न सबैसँग आग्रह गरिएको उल्लेख छ ।